
मंगलवार , भाद्र ३१, २०८२
दाङ, ३१ भदौ । लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिनुयो । बिहान ८ बजे दिवसको कार्यक्रम आयोजना गरिने भएको हो ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा भएको आगजनीबाट भएको क्षतिको विवरण संकलनको काम जारी राखिएको छ । त्यस्तै सामान्य मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सेवा सुचारू गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ ।
कर्मचारीहरूलाई मनोबल उच्च बनाएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्री आचार्यले आग्रह गर्नुभएको छ । ‘सेवा प्रवाहलाई चुस्त ढंगले सञ्चालन गर्न जरुरी छ । पाल टाँगेर भए पनि सेवा अगाडि बढाउन सकिन्छ’उहाँले भन्नुभयो–‘कर्मचारीहरु मनोबल उच्च बनाएर काममा जुट्न आवश्यक छ ।’
प्रदेशको प्रशासनिक केन्द्रको सुरक्षामा समुदायस्तरबाट भएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता र सुरक्षा निकायको जिम्मेवार भूमिकाप्रति मुख्यमन्त्री आचार्यले आभार व्यक्त गर्नुभएको छ । प्रदेश सरकार मातहत रहेका जिल्ला तहका कार्यालयहरू, चारपांग्रे र दुईपांग्रे सवारीसाधनमा समेत आगजनी भएको छ भने यी कार्यालयहरूको सेवा सुचारू गर्ने विषयमा सचिवस्तरबाट अनुगमन गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij