
सोमवार , भाद्र ३०, २०८२
काठमाडौं, ३० भदौ । सरकारले जेनजी आन्दोलनको क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ ।
गृह तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सोमवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सो निर्णय गर्नुभएको हो । उहाँले उनीहरुको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाउने निर्णय गरिएको जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठक बसेर त्यसको मितिबारे औपचारिक निर्णय गर्नेछ ।
त्यसैगरी मन्त्री अर्यालले काजकीरिया खर्चबापत मृतकका परिवारलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको बताउनु भयो । त्यसैगरी मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गम क्षेत्रका लागि हेलिकप्टर उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
गृहमन्त्री अर्यालले भन्नुभयो,‘प्रर्दशनकारी र सुरक्षा निकायका कर्मचारीको सम्मान स्वरुप राष्ट्रिय शोकको रुपमा मनाउने र राष्ट्रिय झण्डा आधार झुकाउने भन्ने एउटा निर्णय छ । दोस्रो मृतकहरुको परिवारलाई काजकिरियावापत प्रतिमृतक रु. १ लाख उपलब्ध गराउने । त्यसका लागि रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने ।
तेस्रो परिवारका सदस्यहरुको आग्रह बमोजिम मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन एवं दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने भनेर ३ वटा निर्णय गरेका छौं ।’
यसअघि नै सरकारले सो आन्दोलनको क्रममा मारिएकाहरुलाई शहीद घोषणा गरिसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij