
आइतवार , बैशाख ५, २०७८
काठमाडौं, ५ वैशाख ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण झन बढ्दै छ । विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ भने कुल संक्रमितको संख्या पनि १४ करोड नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घन्टामा विश्वभर ७ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय कोरोना भाइरसको संक्रमण अहिलेसम्मको उच्च भएको भन्दै पूर्ण सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस आदानमले लगातार बढिरहेको संक्रमण दर र मृत्युदरले चिन्तित बनाएको बताएका छन् ।
भारत लगायतका मुलुकले दोस्रो लहरको संक्रमण झेलिरहेका छन् । भारतमा हालसम्मकै उच्चदरमा संक्रमण फैलिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । त्यहाँ संक्रमित दर दैनिक २ लाख ६० हजार नाघेको छ । उता युरोपेली मुलुकहरु संक्रमणको तेस्रो लहर भोगिरहेका छन् ।
पछिल्लो समय अमेरिकामा भने संक्रमण दर केही घटेको छ भने अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरुमा पनि संक्रमण पछिल्लो समय बढेको बताइएको छ । मानिसकै लापरवाहीका कारण स्थिति बिकराल बन्दै गएको विज्ञहरुको ठहर छ । उनीहरुले उच्च स्वास्थ्य सुरक्षा सतर्कता नै यसको रोकथाम भएको भन्दै लापरवाही नगर्न सबैलाई आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij