
सोमवार , भाद्र ३०, २०८२
भैरहवा, ३० भदौ । नेपाली काँग्रेसका युवा नेता, लेखक तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ वडा समिति सचिव नारायण प्रसाद कोइरालाले पार्टी नेतृत्वलाई १० बुँदे सुझाव दिनुभएको छ । अहिले देशमा देखिएको परिवर्तनको आवश्यकता, भ्रष्टाचारको जालो र धेरै वर्षदेखि केही व्यक्ति र उनकै वरिपरीको सदस्यहरुको हालीमुहालीका कारण भदौ २३ र २४ गते घटना घटेको कोइरालाको ठहर छ ।
‘यसमा ज्यान गुमाउनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु । साथै पार्टी सभापति शेर बहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’उहाँले भन्नुभयो ।
आन्दोलनका क्रममा धेरै धनजनको क्षति हुन पुगेको र कही न कही यो परिस्थितिको जिम्मेवार देशको पुरानो र लामो समय सत्तामा बसेको पार्टी पनि भएको उहाँको भनाइ छ ।
पार्टी सभापति देउवालाई उहाँले भन्नुभएको छ–‘अहिले सत्ता साझेदार र तपाई स्वयं पटकपटक प्रधानमन्त्री भइसकेको र हाल पार्टीको नेतृत्व पनि गरिरहेको कारण तपाई नै हो जस्तो लाग्छ मलाई । यो सबै कुरालाई मध्यनजर गर्दै तपाईले तत्काल युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरी अभिभावकीय भूमिकामा रहन समेत सुझाव दिन चाहन्छु ।’
अब पार्टी पुनः संरचनाको आवश्यकता देखिएको कोइरालाले बताउनुभयो ।
‘विपिले भन्नुभएको झुपडीवादलाई तपाईहरुले महलवाद र व्यक्तिवादमा लगेर तिलाञ्जली दिनुभयो, समाजवादको सिद्धान्तलाई गुठगत बनाउनुभयो, धेरैपटक पार्टी र सरकारको नेतृत्व गर्दा पनि जनताका सुख र समृद्धिका लागि कुनै ठोस कदम चाल्न सक्नुभएन । त्यसैले यो राम्रो अवसर छ यहाँलाई कि तत्काल नेतृत्व हस्तान्तरण गर्नुस्, ’उहाँले भन्नुभयो ।
कोइरालाले २०८२ साल फागुन २१ गतेलाई संसदीय चुनावको मिति घोषणा भइसकेकोले यो निर्णयलाई स्वागत गर्दै र जनतासँग पहिला भएका गलत कर्महरुप्रति क्षमायाचनाका साथ केही नयाँ योजना लिएर गाउँगाउँ जानको लागि सुझाव दिनुभएको छ ।
यस्ता छन् १० बुँदे सुझाव
१. अहिलेसम्म जे–जे नराम्रो गरेको भए माफी माग्ने, राम्रा काम भए प्रचारमूखी हुने ।
२. सबैभन्दा पहिले पार्टी भित्रैबाट भ्रष्टाचारको छानबीन गर्ने, सम्पत्ति छानबीन गर्ने जो कोही भए पनि कारवाही हुन्छ भनि प्रतिबद्धता जनाउने र कारवाही गरेर देखाउने ।
३. कम्तीमा पनि नेतृत्वमा ९० प्रतिशत भन्दा बढी युवाहरुको सहभागीता सुनिश्चित गर्ने ।
४. प्रदेश सभा खारेजीको मुद्दालाई जोडतोडले उठाउने र खारेज गर्ने प्रतिवद्धता गने, प्रदेश सभाका सबै सदस्यलाई राजीनामा गर्न लगाउने, आफ्ना प्रदेश संरचनालाई खारेज गर्ने ।
५. धर्मको बारेमा पनि जनताको राय लिने (जनमत संग्रह) र बहुमतको कदर गर्ने, किनकी नेपाल विश्वको एक मात्र हिन्दू राष्ट्र हो भन्ने कुरा हेक्का राख्ने ।
६. पार्टीका शुभेच्छुक संस्थाहरु निजामती कर्मचारी, प्राध्यापक, शिक्षक, अधिवक्ता, पत्रकार आदिलाई कुनै पनि मान्यता नदिने र सो संस्थाहरुलाई खारेज गर्ने ।
७. पार्टीका उम्मेदवारहरु सम्बन्धित क्षेत्रले तोकेकालाई मात्र टिकट प्रदान गर्ने । टिकट दिने प्रथालाई पारदर्शी बनाउने ।
८. वि.पि.को सिद्वान्तलाई परिपालन गरी आवश्यक भए समयानुकुल परिवर्तन गरी लागू गर्ने ।
९. तत्कालै वडागत रुपमा सुझाव संकलन गर्ने त्यसपछि नगर, क्षेत्र र जिल्लाले क्रमश पारदर्शी तरिकाले प्रतिवेदन तयार गरी केन्द्रमा पठाउने व्यवस्था गर्ने ।
१०. शक्ति पृथककीकरणको सिद्वान्तलाई पूर्ण रुपले पालना गर्ने प्रतिबद्धता जनाउने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij