२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

एक वर्षमा ३ लाख बढीको आँखा उपचार

आइतवार , भाद्र २९, २०८२

  • 400
    Shares
  • 400
    Shares
  • भैरहवा, २९ भदौ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालबाट एक वर्षको अवधिमा ३ लाख भन्दा बढी बिरामीले उपचार सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा ३ लाख ८३ हजार ५३ जनाको आँखा उपचार भएको हो ।

    अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार साउन महिनामा ३१ हजार ६ सय ३३, भदौमा २९ हजार ४ सय ३१, असोजमा २४ हजार ८७, कार्तिकमा २५ हजार ७ सय ७३, मंसिरमा ३० हजार ५ सय ९७ र पुसमा ३४ हजार २ सय ५६ जनाले सेवा लिएका छन् ।

    त्यस्तै माघमा ३२ हजार ६ सय ८५, फागुनमा ३६ हजार ६ सय ३७, चैतमा ३९ हजार २ सय ३६, वैशाखमा ३३ हजार ८८, जेठमा ३१ हजार ८ सय २५ र असारमा ३३ हजार ८ सय ५ जनाले सेवा लिएको पाण्डेयले जानकारी दिनुभयो ।

    एक वर्षको अवधिमा श्री रण अम्बिका शाह आँखा अस्पताल २८ हजार ७ सय ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया (अपरेशन) गरिएको अस्पतालका सह–व्यवस्थापक तुल्सी प्रसाद पराजुलीले जानकारी दिनुभयो । त्यस्तै आँखाको पर्दा फाटेको, आँसु आउने नली, आँखाको डेढोपनको उपचार लगायत गरी १० हजार ६ सय ६ जनाको शल्यक्रिया गरिएको पराजुलीले बताउनुभयो । ५० प्रतिशत बढी नेपालका बिरामीले यो सेवा लिएको उहाँले बताउनुभयो ।

    अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटीरोग (ईएनटी) विशेषज्ञ सेवा प्रदान गर्दै आएको पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ८ हजार बढीले यो सेवा लिइसकेका छन् ।

    अस्पतालमा नेपालका विभिन्न जिल्लासँगै भारतका विभिन्न स्थानबाट बिरामीहरु उपचार सेवा लिन यो अस्पतालमा आउने गरेका छन् । अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण समेत सञ्चालन गर्दै आएको सूचना अधिकारी प्रतीक पाण्डेयले बताउनुभयो ।