
शनिवार , भाद्र २८, २०८२
तिलोत्तमा, २८ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का वडाअध्यक्ष फर्सुराम गिरीको परिवारमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको नाममा भएको हिंसा न केवल भौतिक रुपमा विनाशकारी रह्यो, बरु मानसिक र भावनात्मक रुपमा पनि उनीहरुलाई विछिप्त बनाएको छ ।
आन्दोलनका नाममा एकाएक उत्रिएको भिडले गिरी परिवारको घरमा आगजनी, तोडफोड र लुटपाट गरेपछि उनीहरुलाई अहिले जलेको घाउमा लुटिएको अर्को पीडाले मानसिक रुपमै विछिप्त बनाइदिएको छ । भन्छन्–सर्वस्व नै लुटियो ।
अध्यक्ष गिरीकी पत्नी देवी, जो साना किसान सहकारी संस्थामा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत हुनुहुन्छ, आज पनि त्यो दिन सम्झिँदा स्तब्ध हुनुहुन्छन् । ‘घर जल्नु त एउटा पक्ष भयो, तर माथिल्लो तलामा सुरक्षित राखिएका सुनका गहनाहरु खोजीखोजी दराज फोडेर, पलङका घर्रा फुटाएर लुटिएको थाहा पाएपछि मनै अमिलो भएको छ,’ अध्यक्ष गिरीले आँखाभरि पीडा बोकेर प्रतिक्रिया दिनुभयो । आन्दोलनकारीको उत्तेजित भिडले अध्यक्ष गिरीकै घरसँग सटिएको पूर्वमुख्यमन्त्री लिला गिरीको घरमा आगजनी गरेपछि त्यसको छेवैमा रहेको गिरीको दुईतले घरमा पनि उस्तै विनाश गरेको थियो ।
त्यो दिन अध्यक्ष गिरीको परिवार पछाडिको ढोकाबाट भागेर ज्यान जोगाउन सफल भयो भने छोरा स्वीकार गिरी गाडी लिएर कलेजको कामले ड्राइभरटोल गएकाले उहाँ पनि जागिनुभयो र गाडी पनि जोगाउन सफल हुनुभयो ।
घरको तल्लो तला जलाइयो, माथिल्लो तलामा गएर तोडफोड गरियो, माथिबाट सामान आगनमा फालेर जलाइयो र सुनका गहनासहित नगद लुटियो । पलङको घर्रामा राखिएका गरगहना, दराजको भित्री पकेटमा राखिएको दशकौंको जोहो गरेर जम्मा पारी राखिएको ३२ तोला सुनका गरगहना सबै लुटिएको गिरी परिवारले बताएको छ ।
घरभित्र रहेको ६४ इञ्चको डिजिटल टिभी, माइक्रोओभन, इन्डक्सन चुल्हो, भान्साको सामान, सबै तहसनहस पारिएको छ । घर बाहिरको मोटरसाइकल, साइकल पनि सुरक्षित रहेनन् सबै क्षणभरमै खरानी बनाए । जोगिएको भने छोराको गाडी मात्रै, जुन उनी साथमा लगेका थिए । ‘छोराको बिहेमा जोहो गरेका, मेरी श्रीमतीको विवाहको बेलाको र बीचमा किनमेल गरेर जोडिएका सबै गहना लुटिए, खोजीखोजी राखेको ठाउँमै पुगेर लुटिएको हो,’ अध्यक्ष गिरीले दुःख पोख्नुभयो–‘भएभरको सबै गयो ।’
प्रहरीको टोली आएर मुचुल्का उठाएपछि गिरी परिवारले विस्तारै घरको भग्नावशेषको सरसफाई सुरु गरे पनि देवी भने अझै त्यो तलामा जान सक्नुभएको छैन । उहाँले यो लुटपाटको पीडालाई आगलागीमाथि अर्को गहिरो पीडाबोध भएको बताउनुभएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका, सौरीबोटबाट २०४९ सालतिर तिलोत्तमा आउनुभएका गिरी परिवारले यतिका वर्षमा पसिना बगाएर जोहो गरेको सम्पत्ति एकै झट्कामा सखाप भएको छ ।
नेकपा (एमाले) बाट वडा अध्यक्ष बनेका फर्सुराम गिरीलाई स्थानीयहरुले सादगी, इमानदारिता र सेवाभावको प्रतीक मानेका थिए, जसरी उहाँका ठुलाबाबाका छोरा पूर्वमुख्यमन्त्री लिला गिरीलाई मानेका थिए । ‘जायज मागमा समर्थन छ, तर आन्दोलनको नाममा व्यक्तिगत सम्पत्ति जलाउनु र लुट्नु अत्यन्तै आपराधिक हो,’ गिरीले भन्नुभयो,–‘यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’
घटनापछि शोकमा डुबेको गिरी परिवार अहिले पनि एक–एक गहना र यादहरुको सम्झनामा आँशु पुछिरहेकै छ । यो घटना एउटा प्रतिनिधि पीडा हो, जुन बेला–बेलामा आन्दोलनको नाममा आम मानिसले भोग्न बाध्य हुन्छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij