२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

आफैले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै रुपन्देहीका सिडिओ डा. टोकराज पाण्डे

शुक्रवार , भाद्र २७, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २७ भदौ – रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डे आफैले निषेधाज्ञा आदेशको उल्लङ्घन गर्नु भएको छ।

    शुक्रबार बिहान विभिन्न सामाजिक तथा व्यवसायिक संघ–संस्थाले आयोजना गरेको सद्भाव र्‍यालीमा सहभागी भई भाषण गर्नुभएका प्रजिअ पाण्डेले दिउँसो १ बजेर ४० मिनेटमा रुपन्देही जिल्लाभर बिहान ६ बजेदेखि अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नुभएको हो।

    WhatsApp Image 2025-09-12 at 14.20.10.jpeg

    शुक्रबार बिहानदेखि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिएको सूचना दिउँसो मात्र सार्वजनिक गर्नुभएका प्रजिअ पाण्डेले आदेश जारी गरेकै दिन निषेधाज्ञा हट्नसक्ने संकेत पनि गर्नुभएको थियो।

    बिहानको कार्यक्रममा प्रजिअ पाण्डेले सुरक्षित र मर्यादित तरिकाले निर्धक्कसाथ उद्योग–व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको थियो।

    प्रजिअ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख अनुसार, जिल्ला सुरक्षा समितिको भदौ २७ गतेको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम भदौ २७ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू र निषेधाज्ञा आदेश जारी गरिएको छ।

    प्रजिअका अनुसार कर्फ्यू आदेश शुक्रबार राति १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ भने निषेधाज्ञा शुक्रबार बिहान ६ बजेदेखि राति १० बजेसम्म जारी रहनेछ।

    कर्फ्यू अवधिभर आदेशको उल्लङ्घन गर्दै आवतजावत, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन। त्यस्तै, निषेधाज्ञा अवधिभर पाँचजनाभन्दा बढी व्यक्तिको भेला, अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रम गर्न नपाइने प्रजिअ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    यस आदेशको उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जानकारी पनि प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डेले दिनुभएको छ।

    जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति–सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी कर्फ्यू र निषेधाज्ञा आदेश जारी गरिएको प्रजिअ पाण्डेले स्पष्ट गर्नुभएको छ।