
बिहिवार , भाद्र २६, २०८२
भैरहवा, २६ भदौ । पछिल्ला दिनहरूमा देशमा विकसित भइरहेका अस्थिर राजनीतिक घटनाक्रमप्रति प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाले गम्भीर आपत्ति जनाएका छन्। एक प्रेस वक्तव्य जारी गर्दै उनले संसद विघटनलाई संविधानविपरीत र लोकतन्त्रविरोधी कदमको रूपमा व्याख्या गरेका छन् ।
थापा क्षेत्रीका अनुसार देश हाल राजनीतिक अन्योल, शासकीय रिक्तता र सुरक्षाको संकटमा फसेको छ। उनले पछिल्लो आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै, हिंसा, आगजनी र लुटपाटका घटनाले देशलाई थप संवेदनशील बनाएको बताएका छन्।
"जनताको प्रत्यक्ष सहभागिताबाट बनेको संसदको विघटन संविधानको मर्मविपरीत छ", वक्तव्यमा भनिएको छ, "देशी–विदेशी स्वार्थ समूहहरू यसमा संलग्न देखिन्छन् ।"
थापाले आन्दोलनमा उठाइएका मागहरूलाई वैधानिक रूपमा सम्बोधन गर्न सकिने बताउँदै संविधान संशोधनमार्फत सुधारको बाटो खुला रहेको तर्क गरेका छन् । उनले असंवैधानिक अभ्यासले प्रजातान्त्रिक प्राप्तिहरू मेट्ने खतरा रहेको चेतावनी दिएका छन्।
सांसद थापाले राष्ट्रपति रामचन्द्र पौडेलप्रति विशेष ध्यानाकर्षण गराउँदै, संविधानविपरीत कुनै पनि गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्। साथै, राष्ट्रपतिको मौनता र निष्क्रियता प्रति प्रश्न उठाउँदै, राष्ट्रको नाममा तत्काल सार्वजनिक सम्बोधन गर्न उनले आग्रह गरेका छन्।
"राष्ट्रपति कहाँ हुनुहुन्छ ? " उनले प्रश्न गर्दै भनेका छन्, "नागरिकलाई आश्वस्त पार्ने गरी तुरुन्त राष्ट्रको नाममा सम्बोधन होस् ।"
उनले सभामुखलाई संसदको रक्षा गर्न र नेपाली सेनालाई लोकतन्त्रको पक्षमा उभ्याउनुपर्नेमा पनि जोड दिएका छन्।
सांसद थापाले सबै लोकतान्त्रिक दलहरूलाई आ–आफ्नो धारणा स्पष्ट पार्दै संविधान, राष्ट्र र जनताको सार्वभौमिक मतको संरक्षणका लागि एकजुट हुने बेला आएको बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij