
बुधवार , भाद्र २५, २०८२
भैरहवा, २५ भदौ । नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा पूर्वमन्त्री घनश्याम भुसालले जेन जीको उथलपुथल आन्दोलनपछि अब देश नयाँ श्रृंखलामा प्रवेश गरेको बताउनुभइको छ । उहाँले अब नयाँ राजनीतिक भूराजनीतिक घटनाहरू कसरी घट्छन् अहिले नै भन्न नसकिने बताउनुभयो ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा भुसालले लेख्नुभएको छ–‘जेन जी ! तपाईँहरूलाई वारेस बनाएर मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिँदै छ । मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु, माफी माग्छु । तर त्यसका नाममा तपाईँहरूलाई अरूले लुट्न नपाओस् ।’
महासचिव भुसालको अपील
भदौ २३ गते नौजवान युवा पुस्ता (जेन जी) ले जुन माग राखेर र जुन आचार संहिताको घोषणा गरेर आन्दोलन आरम्भ गरेका थिए त्यसले सबै नेपालीलाई स्वतःस्फूर्त आकर्षित गरेको थियो । त्यसले उनीहरूको जिम्मेवारी बोधको उचाइसमेत प्रदर्शन गरेको थियो । तर निहत्था र अबोध नौजवानहरूमाथि सरकारले गरेको बर्बरतापूर्ण राक्षसी आक्रमणले सम्पूर्ण राजनीतिक र मनोवैज्ञानिक परिस्थितिलाई हल्लाई दियो ।
प्रधानमन्त्री ओलीको अप्राकृतिक सत्ता लिप्साले गर्दा मुलुकले १० वर्षमा हासिल गर्न सक्ने तीव्र आर्थिक विकास र सामाजिक तथा सांस्कृतिक आधारहरू निर्माणका अवसर गुमाएकै थियो । भदौ २३ गते नरसंहारले मुलुकलाई फेरि अर्को चरणको ‘नियन्त्रित अस्थिरता’ तर्फ धकेलेको छ । दुर्भाग्यवश, एउटा कुरा निश्चित भएको छ कि नेपाल अब फेरि उथलपुथलको नयाँ शृङ्खलामा प्रवेश गरेको छ ।
वस्तुतः भ्रष्टाचार विरुद्ध उठेका नौजवान युवा आन्दोलनकारीबाट आन्दोलनकै अपहरण भएपछि यो ताण्डवको आरम्भ भएको थियो । अब पर्दा पछाडिका शक्तिहरू नेपाललाई युक्रेन, लिबिया वा बङ्गलादेश बनाउने प्रयास गर्नेछन् भन्ने कुरामा हेक्का नराख्नु आज जीवित रहेको हाम्रो पुस्ताको घोर नालायकी हुनेछ ।
लोकतान्त्रिक स्थिरताका साथ समृद्ध बन्ने नेपाल राष्ट्रको आकाङ्क्षालाई बोक्न सक्ने योग्यता भएको जिम्मेवार नेतृत्वको अभावमा हाम्रा राजनीतिक पार्टीहरू जनताबाट अलग्गिँदै गएका थिए । मैले २०७५ सालको संसद विघटन लोकतान्त्रिक गणतन्त्रको ओरालो यात्रा हो, यही नेतृत्व रहिरह्यो भने यो नेपाली जातका अझै ठूला दुर्दिन नजिक आउँदै छन् भनेर राजनीतिक समुदायलाई बुझाउने प्रयास गरिरहेँ ।
भ्रष्टाचार नगर्ने सदस्यहरूको पार्टी बिना लोकतान्त्रिक गणतन्त्रलाई बचाउन सकिन्न भनेर चिच्याइरहेँ । दलाल पुँजीवादसँग गठजोड गरेको नेतृत्वबाट लोकतान्त्रिक गणतन्त्रको रक्षा हुनै सक्दैनथ्यो । त्यस सत्यलाई राजनीतिक पार्टीहरूमा स्थापित गर्न सकिएन ।
राजनीतिको मिटरब्याजमा सत्ताभोग गरिरहेका नेताहरूबाट हामी धेरै पटक पराजित भयौँ जसको मूल्य अहिले मुलुकले तिर्दै छ । देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको लागि दशकौँसम्म बलिदान र त्यागले निर्माण भएका राजनीतिक पार्टीका लाखौँ कार्यकर्ताहरू सामाजिक लफङ्गाहरूबाट लखेटिनु पर्ने भयो । दिनदहाडै मुलुकको चीरहरण हुँदा त्रस्त, हताश, निरुपाय भएर लुक्नु पर्ने भयो ।
मुलुकको यस असाधारण हलचलको अवस्थामा हाम्रो पङ्तिमा हतासा, पलायन, आत्मसमर्पण देखिनु स्वाभाविक हो । तर हरेक क्रान्तिकारी आन्दोलन आफैभित्रका नालायकीमाथि विजय हासिल गर्दै अगाडि बढ्छ । यो धक्का हाम्रो विचारको असफलता होइन, लोकतन्त्र र समाजवादका मूल्यहरूको असफलता होइन, त्याग र बलिदानले बनाएको हाम्रो इतिहासको असफलता पनि होइन ।
यो त गणतन्त्रलाई बिर्ता ठान्ने केवल केही नेताहरूको असफलता हो, ती नेताका स्वार्थको लक्ष्मण रेखा नाघेर अगाडि बढ्न नसक्ने हाम्रो नादानीको असफलता हो । यस वास्तविकतालाई आत्मसात् गर्न सक्यौँ भने हामीले हतासा, पलायन र आत्मसमर्पणलाई सजिलै जित्न सक्छौँ । त्यसैले अझ बढी धैर्यता, दूर दृष्टि र हिम्मतका साथ परिस्थितिको मूल्याङ्कन गर्दै हाम्रा अभिभारा निर्धारण गरौँ । अब हामीलाई बाटो देखाउन कुनै महापुरुष बाँकी छैन । परिस्थिति नयाँ छ, त्यसैले नयाँ परिस्थितिको विचार, राजनीति र सङ्गठनका साथै नयाँ नेतृत्व निर्माण गर्दै अघि बढौँ ।
नयाँ राजनीतिक–भूराजनीतिक घटनाहरू कसरी घट्छन् अहिले नै भन्न सकिन्न । अहिलेका घटनाक्रम जतिसुकै अप्राकृतिक र असह्य भए पनि यो भन्दा बढी जनधनको क्षति नहोस् भन्ने कुरामा ध्यान दिऊँ । तर राजनीतिलाई असाधारणरुपले प्रतिक्रान्तिकारी दिशामा लैजाने, हामीले आर्जेका राजनीतिक तथा संवैधानिक व्यवस्थाहरूलाई भत्काउने र हामीलाई असफल मुलुक घोषणा गर्ने प्रयासलाई नजिकबाट अध्ययन गर्दै हाम्रो तर्फबाट खेल्नु पर्ने भूमिकाका लागि तयार रहौँ । हामी समयको परीक्षामा छौँ, सामना गर्न मनसा–वाचा–कर्मणा तयार होऔँ ।
अन्त्यमा, प्रिय नौजवान युवाहरू (जेन जी) ! तपाईँहरूलाई वारेस बनाएर मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिँदै छ । मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु, माफी माग्छु । तर त्यसका नाममा तपाईँहरूलाई अरूले लुट्न नपाओस् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij