
बुधवार , भाद्र २५, २०८२
भैरहवा, २५ भदौ । जेनजी समूह रुपन्देहीले अहिले आफूहरुको उद्देश्य अनुसार नयाँ नेपाल निर्माणको नजिक पुगेका बताएको छ । समूहले हालसम्मका गतिविधिहरुले सार्थकता समेत प्राप्त गरिरहेको जनाएको छ ।
बुधबार समूहद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘यी गतिविधि गरिरहँदा कतिपय गर्न नहुने घटनाहरु समेत घटिरहेका छन्, जुन हुन नपर्ने विषय थिए । यसै सन्दर्भमा हाम्रो अभियानलाई दुरुपयोग गर्दै कोही कसैको आग्रहमा चल्ने पंक्ति समेत हाबी भइरहेको छ ।’
अब बन्ने नयाँ अन्तरिम सरकारमा हामीले रा.स्व.पा, नेकपा (एमाले), नेपाली कांग्रेस, रा.प्र.पा. लगायत अन्य दललाई त्यसमा सहभागी हुन नहुने समूहको भनाइ छ ।
‘यो कुनै दलको स्वार्थ परिपूर्तिका निम्ति गरिएको आन्दोलन नभइ भ्रष्टाचार र बेथितीविरुद्धको जेनजी आन्दोलन हो, ’विज्ञप्तीमा उल्लेख छ ।
‘नितान्त रुपमा नयाँ अनुहार र नेतृत्वको आगमन हुनु अति आवश्यक छ । हाम्रा देशमा रहेका सम्पूर्ण सम्पत्ति हाम्रै देशका अमूल्य गहना हुन् । तसर्थ, यसलाई थप विनाश गर्नुभन्दा पनि नयाँ नेपाल निर्माणका निम्ति लाग्न सम्पूर्ण जेनजी अभियन्ता साथीहरूलाई सविनय अनुरोध गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij