२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीले नागरिकको मन जित्नुपर्छ : प्रजिअ डा.पाण्डे

आइतवार , भाद्र २२, २०८२

  • 256
    Shares
  • 256
    Shares
  • भैरहवा, २२ भदौ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेयले प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीले नागरिकको मन जित्नुपर्ने बताउनुभएको छ । उहाँले कर्मचारीको पोशाक र परिचयपत्र लगाएर निजामती दिवस मनाएका कर्मचारीले राम्रो छबि बनाउन आश्यक रहेको बताउनुभयो । निजामती सेवा दिवसको अवसरमा आइतबार भैरहवाको बुद्धचोकदेखि जिल्ला प्रशासन कार्यालय रुपन्देहीसम्म सम्पन्न प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले भन्नुभयो–‘पछिल्लो समय कर्मचारी, नेता, पत्रकार, समाज एक अरुमाथि दोषारोपण गर्ने कार्य मात्र भइरहेको छ । आज जसरी हामीले पोशाक लगाइ, परिचयपत्र लगाएर यो दिवस बनाइरहेका छौं, यस्तै हरेक नागरिक समाज सामू सम्मानका साथ जाने वातावरण बनाउनुपर्छ ।’ 

    उहाँले थप्नुभयो–‘स्रोतसाधन, काम गर्ने ठाउँ र हाम्रा आकांक्षाहरुको तालमेल मिलेको छैन । देशले उपलब्ध गराएको स्रोतसाधनप्रति सन्तुष्ट रही सेवालाई फराकिलो बनाई नागरिकको मन जित्नुपर्छ । सीमित स्रोतसाधनबाट अधिक सेवा प्रवाह गर्न प्रयास गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । निजामतीले सेवाले महिला, अपांग, मधेशी, अल्पसंख्यक, पिछडा वर्ग सबैलाई समेटेको उहाँले बताउनुभयो । 

    निजामती दिवस मूल समिति रुपन्देहीको आयोजनामा सम्पन्न प्रभातफेरी कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले निजामती सेवा ऐनले नेपाल सरहकारका हरेक कर्मचारीको मनोभावनालाई समेटिनुपर्ने बताउनुभयो । संघीयसहित प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई नजरअन्दाज नगरी यस विषयमा केन्द्रीय सरकारले ख्याल गर्न उहाँले आग्रह गर्नुभयो । स्थानीय तहका कर्मचारीहरुको मनभित्रको पीडा बुझी समाधान गर्न उहाँले संघीय सरकारलाई आग्रह गर्नुभयो ।

    वि.सं. २०६१ सालदेखि मनाउँदै आइएको निजामती सेवा दिवस हरेक वर्ष भदौ २२ गते विभिन्न कार्यक्रम गरी मनाइन्छ । दिवसको अवसरमा सरसफाई, स्वास्थ्य शिविर, रक्तदान लगायत विभिन्न समाजिक कार्यक्रमहरु गरी मनाउने गरिएको छ ।