
आइतवार , भाद्र २२, २०८२
काठमाडौं, २२ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्र्शी भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ ।
निजामति कर्मचारी दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यापानेले यस्तो बताउनुभएको हो । देशको नीति, कार्यक्रम र कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी निजामति कर्मचारीकै भएको उल्लेख गर्दै उहाँले समयसापेक्ष, सक्षम र पारदर्शी भएर आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कर्मचारी प्रशासनले नागरिकमा विश्वास दिलाउने र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नसके मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन सकिने विश्वास व्यक्त गर्नुभयो । सबै नागरिकले आफ्नो कर्तव्य अनुशासनपूर्वक पालना गरेको खण्डमा विकसित देशहरुको चर्चा गरिरहनु नपर्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कर्मचारी संयन्त्रलाई सुशासनमुखी बनाऔँ । सम्पूर्ण कर्मचारीहरु ईमानदार बन्नुपर्छ । सुशासनमुखी बन्नुपर्छ । समयको गतिसँगै हिँड्नसक्ने बन्नुपर्छ । पारदर्शीता कायम गर्नुपर्छ । अब्बल रुपमा कार्यसम्पदान गरेर आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ । आज समयले यही माग गरिरहेको छ ।
युवाहरु रोजगारीको खोजिमा विदेशमा भौँतारिने स्थिति नबनोस् । म निजामाति सेवामार्फत देशको सेवा गर्छु भन्ने भावनाले प्ररित होउन् । हामीले कर्मचारी प्रशासनलाई यो खालको विश्वास दिलाउनुपर्नेछ । यो खालको भरोसा दिलाउनुपर्नेछ ।
देशको बजेट, नीति, कानून तथा कार्यक्रम कार्यान्वयन गर्ने देशको निजामति कर्मचारीले नै हो । जति कर्मचारीहरुले सरकारको नीति र कार्यक्रमहरुलाई कार्यसम्पादन गर्न सक्नुहुन्छ त्यति नै यो देशले मुहार बदल्दै जान्छ ।
त्यसकारण म आग्रह गर्न चाहान्छु हामी सबै जुनसुकै निकायमा भएपनि देश सबैभन्दा ठुलो कुरा हो । हामी सरकारमा रहने तथा अन्य सबै निकायमा रहनेहरु यो देशको नागरिक पनि हौं । त्यसकारण हामी सबै जिम्मेवार बन्यौं भने यो देश बन्छ । अनि हामीले संसारका विकसित देशहरुको चर्चा गरिरहनु पर्दैन ।’
मन्त्री न्यौपानेले युवाहरु पलायन हुने क्रम बढ्दै गएको उल्लेख गर्दै उनीहरुलाई निजामति क्षेत्रमा आकर्षित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कुनै एक जनाको चाहनाले मात्रै देश नबन्ने भन्दै उहाँले सबैले आआफ्नो तहबाट योगदान दिन जरुरी रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij