२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

खास खुवी भएका : घनश्याम कोइराला

शुक्रवार , भाद्र २०, २०८२

  • 355
    Shares
  • 355
    Shares
  • घनश्याम कोइरालासँग चिनाजान ढिलै भए पनि प्रगाढ छ । समृद्धि र संस्कृति विषयक छलफल कार्यक्रममा पहिलोपटक पाल्पा, तिनाउको सिद्धबाबा मन्दिर परिसरमा भेट हुने अवसर जुरेको थियो । त्यसपछि हामीहरु छुट्टिनु परेको छैन । टाढा हुनु परेको छैन । कुनै विषयमा स्वच्छ तर्क, वितर्क चलकै छन् । विचारमा मन्थन गरिएकै छ । छलफल, अन्तरक्रिया, विमर्शमा आ–आफ्ना तर्क प्रस्तुत गरे पनि प्रसंग वा कुराको बीट नमारी त्यसै छाडिएको छैन । हामीबीचको हार्दिकता वर्गीय हो । लाग्छ, सयौं वर्षदेखि हामी यही परिवेशमा छौं । अवस्थामा छौं । नमीठो हुनुपरेको छैन । तीतोपीरो भइ अनुहार रातो बनाएर कुरालाई बीचैमा छाडेर हिंड्नु परेको छैन । कुरामा ठोकाठोक त सामान्य विषय हुन् । पानीका फोकाजस्तै लाग्छन् । जीवन्त साथीकाबीच कुरा माँझामाँझ हुनुलाई अन्यथा लिनुहुदैन ।

    उनले आफ्नो फेसबुकवालमा दिनहुँजसो कामलाग्दा, रहरलाग्दा, उत्प्रेरित र जागृत स्टाटस लेख्ने गर्छन् । त्यो उनको दैनिकी नै हो कि जस्तो लाग्छ । बिहान आँखा खोल्नेबित्तिकै उनको स्टाटस हेरेर आफ्नो नित्यकर्म थाल्ने मान्छेहरुमध्येको म पनि एक हुँ । रहरका लागि लेख्छन् कि करकापले लेख्छन् मलाई थाहा छैन । मलाई यत्ति थाहा छ कि उनले दैनिक स्टाटस जरुर लेख्छन् । त्यसमा उनको गन्थन, गुनासो, गनगन, पीडा, दुःख, खुसीका कुराहरु भन्दा पनि व्यक्ति, समाज र राष्ट्रका निम्ति खाँचो पर्ने खास कुरा, विषय, प्रसंगहरु लेखेका हुन्छन् । कसैप्रति आशक्ति भएर वा कसैलाई खुइल्याउन उनले लेखेको देख्दिनँ । यो नै उनको लेखाइको मूल धर्म हो ।kkkkkkkkkk.jpg

    उनले लेखेका विषयवस्तुहरुलाई केन्द्रमा राखेर प्रिय साथीहरु विशाल र रुपेश आचार्यले पुस्तक प्रकाशन गर्ने जमर्को गरेका छन् । त्यो नै उल्लेखनीय कुरा भयो । सकारात्मक कुराको थालनी भएको मैले ठानें । मानें । यसले गर्दा घनश्याम जीका छरिएर रहेका विचार, भावना, कुराकानीहरु एकीकृत भइ सूचना, ज्ञान र विवेकका रुपमा सबैका माँझ पुग्ने भए । सम्पत्तिका रुपमा संरक्षित हुने भयो । चाहिएको बेला पढ्न, बुझ्न र जान्नका निम्ति सजिलो हुने भयो । स्वयं घनश्याम जीलाई पुनर्ताजगीका लागि राम्रो हुने भयो । साथीहरुले किन यी संकलनहरुलाई पुस्तकमा रुपान्तरित गर्न खोजे उनीहरुका आफ्नै तर्क, विचार र भावना होलान् ! तर यत्ति भन्न सक्छु कि उनीहरुले थालेको कर्मले सबैकाबीच प्रशंसा र धन्यवाद प्राप्त गर्ने नै छ ।

    दिनभरीका गतिविधि, भावना, विचार, कर्मलाई रातभर गहिरोरुपमा सोचेर, बुझेर अनि भोलिपख सखारै अरुलाई शिक्षाप्रद हुने गरी लेख्ने घनश्याम जीको लेखकीय व्यहोरा अति नै राम्रो छ । यसमा कसैले नजाती मान्नुपर्ने कुनै कारण नै छैन । चुप्प लागेर केही नगर्नुभन्दा कैयौं गुना हितकर हुनेनै भयो लेख्नु । लेख्ने काम चानचुने कुरै होइन । के लेख्ने, कसका लागि लेख्ने, किन लेख्ने, कसरी लेख्ने भन्ने कुराको उत्तर नआइ लेख्छु भन्ने कुुराले मात्र महत्व राख्दैन । लेखाइको प्रभाव, अर्थ र महत्वको गहिराइमा पुगेर मात्र लेख्ने काम थाल्नुपर्छ भन्ने मेरो बुझाइ छ । आफ्नो लेखाइले अरुलाई के सन्देश दिन्छ ? आफ्नो लेखाइको दूरगामी प्रभाव के हो ? लेखेर व्यक्ति, समाज र राष्ट्रलाई के दिन सकिन्छ ? यी कुराका उत्तर नै सकारात्मक एवं प्रभावशाली लेखाइ हुन सक्छ भन्ने मेरो ठम्याइँ हो ।

    सायद मैले माथि उल्लेख गरेका लेखाइका विषयहरुमा घनश्याम जीका तर्कपूर्ण, व्यवहारिक र ज्ञानवद्र्धक लेखाईसँग तादम्यता  मिल्छ । मेल खान्छन् । प्रसंग जोडिन्छन् । नाता, साईनो लाग्छन् । आपसी र घनिष्ठताको मितेरी सम्बन्ध स्थापित हुने गर्छन् । बिहानै लेखिनु, उल्लेखित लेखाइबाट दिनभरलाई स्फूर्ति मिल्नु अनि नयाँनयाँ विषयमा जानकार हुनु र केही गर्नुपर्छ भन्ने सन्देश प्राप्त हुनु नै उनको लेखाइको खास मर्म हो । उत्साह हो, उत्प्रेरणा र जागरणको नमूना हो । मैले यसरी नै बुझेको छु । अरुलाई आफ्नै तरिकाले बुझ्ने, जान्ने र मनन गर्ने छुट कायमै छ ।

    धेरैले घनश्याम जी संस्कृत पठन संस्कृतिबाट राजनीतिमा आउँदा धर्म, संस्कृति, संस्कार, सभ्यताका कुरा आउनु स्वभाभिकै हुन् भन्नेहरुको संख्या धेरै पाउन सकिन्छ । तर, उनमा माक्र्सवादी चिन्तन, विचार र सन्दर्भहरु धर्म, संस्कृतिसँग कसरी द्वन्द्वात्मक तरिकाले प्रवेश पाइरहेका छन् भन्ने कुरालाई ख्याल गर्नुपर्ने र मनन गर्नुपर्ने देखिन्छ । हरेक कुरालाई विज्ञानसम्मत सोच्नु, तार्किक कुरा राख्नु, मन्थन गर्नु र सुविचार ढंगले लेखाइलाई सबैका बीच प्रस्तुत गर्ने घनश्याम जीका ज्ञान, सीप, कला र व्यवहारिक पक्षहरुलाई धन्यवाद् र प्रशंसा गर्नुपर्ने हुन्छ ।

    हुन त प्रशंसाले मानिसलाई नाम्चेबजार राख्छ भने स्वस्थ र रचनात्मक आलोचनाले मानिसलाई सगरमाथाको चुचुरोमा पुर्याउनेछ । त्यसैले घनश्यामजी पनि दूधले नुहाएका छन्, शतप्रतिशत् पवित्र छन् । उनका लेखाइहरुले सबैलाई छुन्छन् । सबैका चित्त बुझ्छन् र बुझाउन सजिलो हुन्छ भनेर म भन्न सक्तिनँ । उनका सोचाई र लेखाइमा कतै खोट हुन सक्छन् । त्यसका लागि उनलाई राय, सुझाव, सल्लाह र आवश्यक पृष्ठपोषण दिन सकिन्छ । उनलाई भेटेर, मनमा लागेका कुरा राख्न सकिन्छ । उनलाई लेखेर आवश्यक कुरा सोध्न र बुझ्न पनि सकिन्छ । तर, कुनै पनि विधि, विधान र माध्यम नपनाइ गालीगलौजको भाषा, नकारात्मक भाव प्रकट र गालीबेइज्जतीको भाषा प्रकट गर्नु कुनै पनि श्रष्टा र द्रष्टाका निम्ति लाभदायक हुँदैन । अझ घनश्यामजीको लेखाइमा यस्ता अवाञ्छनीय भाषा, शब्द र नकारात्मकता पेश गर्नका लागि कुनै ठाउँ नै छैन र आवश्यक छैन । छुट समेत छैन ।

    लेख्नका लागि पढ्नुपर्छ । पढ्नका लागि समय र मिहिनेत चाहिन्छ । एकाग्रता र चिन्तनशील व्यक्तिले नै धैर्य भएर पढ्न सक्छ । पढेको कुरालाई सूक्ष्म र मिहिन तरिकाले अरुलाई बुझाउनका लागि लेखनशील्प मिठास र सरस हुनुपर्छ । अभिव्यक्तिशील कलामा पारङ्गत हुनुपर्छ । मैले यस्ता गुणहरु घनश्यामजीका लेखाइमा भेट्छु र देख्छु । दिनहुँ नयाँ विषयमा नौलो तरिकाले प्रस्तुत गर्ने शैली सायदैमा हुने गर्छ । हामीले आशा र विश्वास गरेका उनमा लेखकीय दृष्टिकोण, चेतना र बोधगम्य क्षमता अपार छ भन्दा अनौठो हुनेछैन । त्यही भएर त दैनिक आफ्ना सबै क्षमता, योग्यता र दक्षता प्रयोग गरेर देश, दुनियाँलाई जागृत गराउने खालका विषयमा केही न केही लेख्ने गर्छन् । यो नै उनको खास खुबी हो ।