२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

असोज १ बाट बेलहियामा पुनः एकीकृत चेकजाँच बिन्दु सञ्चालन गरिने

बिहिवार , भाद्र १९, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १९ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित नेपाल–भारत सीमा नाका बेलहियामा थप व्यवस्थित र प्रभावकारी रुपबाट पुनः एकीकृत चेकजाँच बिन्दु सञ्चालनमा गरिने भएको छ ।
    आगामी असोज १ गतेबाट थप व्यवस्थित र प्रभावकारी रुपबाट एकीकृत चेकजाँच बिन्दु सञ्चालन गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताउनुभयो । भारत लगायत तेस्रो

    मुलुकबाट बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुको सहजताको लागि स्थापित एकीकृत चेकजाँच बिन्दुको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न निर्णयहरु भएको उहाँले जानकारी दिनुभयो ।
    जसअनुसार उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशले आवश्यक जनशक्तिको व्यवस्थापन, आवश्यक पर्ने सबै चेकजाँच स्टिकर उपलब्ध गराउने र अन्य निकायसँग समन्वय गर्ने र आवश्यकता अनुसार साधनस्रोत उपलब्ध गराउनेछ ।

    त्यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाउने, प्रभावकारी व्यवस्थापनका लागि निरन्तर अन्तर निकाय समन्वय र सहजीकरण तथा नियमित अनुगमन, मूल्यांकन र समन्वय गर्नेछ । त्यसै गरी सिद्धार्थनगर नगरपालिकाले आवश्यक पर्ने सबै पूर्वाधार चेकजाँच कक्षको निर्माण, खानेपानी र सरसफाईको उचित प्रबन्ध, सीमा क्षेत्रमा सौन्दर्यीकरणको कार्य र आवश्यकता अनुसार स्रोतसाधन उपलब्ध गराउनेछ । रुपन्देहीका सम्पूर्ण सुरक्षा निकायले सुरक्षा चेकजाँच गरी स्टिकर जारी गर्ने, आवश्यकता अनुसार समन्वयात्मक रुपमा जनशक्ति उपलब्ध गराउने र अन्तर निकाय समन्वय र सहजीकरण गर्नेछ ।

    भैरहवा भन्सार कार्यालयले भन्सार परिसरको सौन्दर्यीकरण, सेवाग्राहीमैत्री संरचना निर्माण र अन्य निकायसँग आवश्यकता अनुसार समन्वय गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार विगतदेखि नै बेलहियामा सञ्चालनमा आएको एकीकृत चेकजाँच बिन्दु सञ्चालनका क्रममा देखा परेका चुनौतीहरु, समाधानका प्रयासहरु लगायतमा विषयमा मंगलबार बृहत छलफल भएको थियो । ‘सबै सरोकारवाला निकायले तोकिएको जिम्मेवारी र पूर्व तयारीका कार्यसम्पन्न गरी २०८२ असोज १ गतेबाट थप व्यवस्थित र प्रभावकारी रुपबाट एकीकृत जाँच बिन्दुको सञ्चालन गर्ने निर्णय भएको छ, ’उहाँले भन्नुभयो।

    एकीकृत चेकजाँच बिन्दुबाट प्रवाह गरिने सेवाको अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा अनुगमन संयन्त्र गठन गरिएको छ । समितिको सदस्यमा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेश सचिव, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (प्रहरी उपरीक्षक), सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक र भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रहनुभएको छ ।

    प्रमुख जिल्ला अधिकारी डा. पाण्डेका अनुसार अनुगमन समितिले नियमित रुपमा अनुगमन गरी आवश्यक पृष्ठपोषण प्रदान गर्नेछ । सोही पृष्ठपोषणका आधारमा एकीकृत चेकजाँच बिन्दुलाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालाहरुको बैठक बसी थप निर्णय गरिने उहाँले बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले पर्यटकको सहजताका लागि एकीकृत चेकजाँच बिन्दु प्रभावकारी रुपबाट सञ्चालन गर्नु राम्रो कार्य भएको बताउनुभयो ।