२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ : घनश्याम भुसाल

बिहिवार , बैशाख २, २०७८


भैरहवा, २ वैशाख ।
प्रतिनिधिसभा सांसद तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालले शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् । उनले शिक्षाको जिम्मेवारी राज्यले नलिए त्यो आधुनिक राज्य हुन नसक्ने बताए ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा अवस्थित खजहना आधारभूत विद्यालयको भवन शिलान्यास कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै भुसालले भने, ‘अहिलेको समयमा बालुवा, गिट्टीको कुरा मात्र गरेर हुँदैन, मान्छेको विकासको कुरा गर्नुपर्छ ।’ उनले सानो जातको संक्रिणता वा ठूलो जातको अंहकारबाट अब मुक्त हुनुपर्ने बताए । 

‘म बाहुन हुँ, म क्षेत्री हुँ, म मुस्लिम हुँ, म दलित हुँ, भन्ने कुराबाट मुक्त हुनुपर्छ, यो विज्ञानले मान्दैन, हाम्रा पुर्खा एउटै हुन, हामी अलगअलग भएको भए गाईभैसी जस्ता हुन्थ्यौं, ’उनले भने ।  मानव एउटै जाति भएकोले विभाजित गर्ने कुरा बेकार भएको उनको भनाइ छ । एकले अर्कालाई घृणा गर्न सिकाउने कुरा बेकार भएको भुसालले बताए । ‘एउटै पुर्खाको सन्तानलाई जुन विद्याले घृणा गर्न सिकाउँछ, त्यो विद्या होइन, ’भुसालले भने ।

चुच्चे रेल, पानीजहाजको कुरा गर्नु भन्दा बालबालिकाको लागि के भयो भने महत्वपूर्ण विषय भएको उनले बताए । ‘अर्काको बच्चाले खान नपाउँदा तपाई दुःखी हुनुहुन्छ भने त्यो राम्रो हो, त्यही छटपटी गर्न सक्ने मान्छे बनाउनुपर्छ, त्यो नै शिक्षा हो, ’उनले भने । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका नेता भुसालले आफू सतारुढ दलको भए पनि विकासमा अझै सरकार केन्द्रीत हुन नसकेको बताए । कुनै काम बिगार्न एक्लै सकिए पनि बनाउन भने सबै पक्षको सहयोग आवश्यक रहेको भुसालको भनाइ थियो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले चरित्रवान समाज बन्छ कि बन्दैन भन्ने हामी माझ चुनौती रहेको बताए । उनले विद्यालय पठाएपछि जिम्मेवारी सकियो भन्ने अभिभावकहरु अब यो सोचबाट माथि उठ्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले शिक्षक जागिर खाने मात्र नभइ जिम्मेवार पनि बन्नुपर्ने बताए । उनले शिक्षा नीतिमा परिवर्तनको आवश्यकता रहेको बताए । 

लुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले शिक्षा बिना अन्य क्षेत्रको विकास हुन नसक्ने बताए । उनले जातीयताको विकास नभइ मानवताको विकास हुनुपर्ने बताए । IMG_6795.JPG

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले शिक्षा क्षेत्रमा नगरपालिकाले धेरै बजेट बिनियोजन गरेको बताइन् । उनले शिक्षा मानव  जातिको लागि तेस्रो आँखा भएको बताइन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले नेपाली कांग्रेसले नगरपालिकाले गरेका कामहरुमा सहयोग गर्दै आएको बताए । वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेलले सडक, नाला बनाएर मात्र विकास नहुने बताए । उनले शिक्षा, स्वास्थ्य र सामाजिक विकासको क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, वातावरण र विपद व्यवस्थापन तथा संस्थागत विकासलाई संगसंगै लैजानुपर्ने बताए । उनले नगरपालिकाले यी पाँचवटै विषयलाई अगाडी बढाएको बताए ।

साहित्यकार विजय गोविन्द श्रेष्ठले विद्यालय ज्ञानको मन्दिर भएको बताए । उनले कतिपय विद्यालयमा व्यवस्थित शौचालयको समस्या रहेको बताए । नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

७७ लाख ७२ हजार ८ सय ४५ रुपैयाँको लागतमा निर्माण हुने ६ कोठे दुईतले भवनको पूर्वमन्त्री घनश्याम भुसालले बिहीबार शिलान्यास गरेका हुन् । भवन निर्माणको जिम्मा कोरल निर्माण प्रा.लि. नवलपरासीले पाएको छ ।