
बिहिवार , भाद्र १२, २०८२
काठमाडौं, १२ भदौ । शिक्षकहरुले विद्यालय शिक्षा विधेयकमा आफूहरुको सबै माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई अझै चर्काउने चेतावनी दिएका छन् ।
बिहीवार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरुले सो विधेयकमा आफूहरुको महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले विद्यालय शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन गर्न दवाव दिँदै प्रमुख दलका मुख्यालयमा धर्ना दिइरहेका छन् ।
विद्यालय शिक्षक, कर्मचारीहरुको बाँकि माग पनि सम्बोधन गराउनका लागि आफूहरुले दबाब स्वरुप दलको केन्द्रिय कार्यालयमा धर्ना दिने काम शुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनु भयो । उहाँले आफूहरुको सो माग सम्बोधन नभई सो ऐन संघीय संसदबाट पारित भए आन्दोलनलाई थप कडाईका साथ अघि बढाउन बाध्य हुने चेतावनी समेत दिनुभयो ।
अध्यक्ष सुवेदीले भन्नुभयो, ‘समितिबाट अघि बढदै गर्दा हाम्रा केही माग मुद्दाहरु सम्बोधन भएर आएका छन । अव केही महत्वपूर्ण माग, मुद्दाहरु छुटेका छन । तिनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा अझै हाम्रो संशोधनको समय छ । संशोधनको स्थान छ । त्यसैले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट संशोधन गरेर एउटा विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी ऐन बनाउने त्यो दवाव निर्माण गर्न हामी आन्दोलनमा छौं ।
नौ गते हामीले नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक माननीय महेश बर्तौैलाजीलाई भेटयौं । अनि हिजो ११ गते हामीले नेपाली काँग्रेसका संसदीय दलका प्रमुख सचेतक माननीय श्यामकुमार घिमिरेलाई भेट्यौं । उहाँहरुबाट ल बसौ, छलफल गरौं । तपाईहरुका छुटेका एजेण्डा के हुन ? तिनलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सम्बोधन गरेर अगाडि जान सकिन्छ भन्ने सकारात्मक कुरा गर्नुभएको छ ।
समिति भित्र हुने केही माननीय सांसदहरुले नेपाल शिक्षक महासंघ र आम नेपाली शिक्षक कर्मचारीप्रति एउटा इगो साँध्ने ढंगले हाम्रा माग मुद्दाहरुमा बाधा उत्पन्न गर्नु भएको छ । फेरि समिति भनेको त्यहाँ ह्वीप पनि लाग्दैन । त्यसैले त्यहाँ सांसदहरुले स्वतन्त्र रुपले आफ्नो वैयक्तिक विचार पनि राख्नुभएको छ ।
ती सांसदहरुले जसले शिक्षक कर्मचारीको पक्षमा अडान लिइदिनु भयो, विचार राखिदिनु भयो । उहाँहरुप्रति म आभार प्रकट गर्दछु । विभिन्न खालको सांसदहरुले विभिन्न अडान राखेर त्यहाँभित्र सहमतीमा आएर अगाडि बढ्नलाई एउटा कठिनाई थियो । त्यो कठिनाईबाट अब प्रतिनिधि सभामा आईसकेपछि त्यो चरण पार भइसकेको छ ।
अब प्रतिनिधि सभा र राष्ट्रिय सभा भनेको त दलले निर्णय गरेर ह्वीप लाग्ने ठाउँ हो । त्यसकारण अब सुधारको पाटोमा आउँछ भन्ने हामीले ठानेका छौं । त्यसैका लागि पक्षकरण गर्दैछौं । अगर त्यहाँबाट पनि सुधार नभई ऐन जारी हुँदा पनि त्यो सुधार भएन भने ऐन संशोधनका लागि २०८१÷८२ को भन्दा ठूलो आन्दोलन लिएर हामी आउँछौं ।’
महासंघले भाद्र ११ गते बुधवार (हिजो)बाट सो विधेयकमा आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने दिने आन्दोलनको कार्यक्रम शुरु गरेको छ ।
त्यसैक्रममा बुधवार काँग्रेस मुख्यालय सानेपामा धर्ना दिएका उनीहरुले बिहीवार (आज) एमाले मुख्यालय च्यासलमा धर्ना दिएका हुन । १३ गते शुक्रवार नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित मुख्यालय धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij