
बिहिवार , भाद्र १२, २०८२
बुटवल, १२ भदौ । संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा असहमति जनाउँदै आएका निजी विद्यालयका संगठनहरुले प्रस्तावित विधेयक स्वीकार गर्न नसकिने बताएका छन्।
दोस्रो चरणको आन्दोलन घोषणा गरेका प्याब्सन, नेशनल प्याब्सन, हिसान र एपेनको जिल्ला कार्य समितिले संयुक्त रुपमा बुधबार रुपन्देहीको बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले प्रस्तावित विधेयकले निजी क्षेत्रलाई तहसनहस बनाउने दावी गरे ।
निजी विद्यालय सञ्चालकहरुले पूर्ण छात्रवृत्ति र कम्पनी ऐनअनुसार दर्ता भइ सञ्चालनमा रहेका विद्यालयलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले विद्यालयमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तकलगायत उपलब्ध गराउन नसक्ने भन्दै यस्तो प्रावधान नहटाए भदौ १२ गतेबाट विद्यालय बन्द गर्ने आन्दोलन गर्न समेत पछाडी नहट्ने चेतावनी दिएका छन् ।
कार्यक्रममा सहभागीहरूले संविधानले सुनिश्चित गरेको पेशा, व्यवसाय र लगानीको सुरक्षाविरुद्ध नीति ल्याउने कार्य लोकतान्त्रिक अभ्यासको अपमान भएको भन्दै सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै हिसानका केन्द्रिय निर्देशक प्रा.डा. आरसी आचार्यले प्रस्तावित विधेयक कुनै हालतमा स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले सरकारले जबरजस्ती गरे विद्यालयका चावी सरकारलाई बुझाएर आन्दोलन गर्ने बताउनुभयो ।
हिसानका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायले शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको योगदान अवमूल्यन गरेको भन्दै सरकारले शिक्षा क्षेत्र तहसनहस बनाउन लागेकोले विधेयकलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।
अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स केन्द्रीय सदस्य डिपी खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, रुपन्देही अध्यक्ष दिनेश पाण्डे, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का जीवनकुमार बन्जाडे, राष्ट्रिय अभिभावक संघका भोज बहादुर बुढाथोकी, रुपन्देही उद्योग संघका कृष्णप्रसाद पराजुली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल लगायतले निजी विद्यालयहरुले उठाएका कतिपय मागहरु जायज भएको बताउँदै आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभयो ।
प्याब्सन रुपन्देही अध्यक्ष दीपक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका सल्लाहकार राजुु गुरुङ, नेशनल प्याब्सन रुपन्देही अध्यक्ष बाबुराम बन्जाडे, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, प्याब्सन उपाध्यक्ष टीकाराम न्यौपाने, शिक्षक महासंघका रुपन्देही अध्यक्ष लिलाधर न्यौपाने लगायतले बोल्दै स्टण्ट गर्ने र लोकप्रिय हुने नाममा ल्याइएको विधेयकका बुँदाहरु खारेज नभए कठोर र अप्रिय निर्णय लिन बाध्य हुने बताए ।
निजी विद्यालयहरु कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने, विधेयकमा रहेको पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने, कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षामा छात्रवृत्ति पाउने व्यवस्था हटाउनुपर्ने लगायतका माग राखेर देशव्यापी आन्दोलनमा उत्रिएका छन् ।
नेशनल प्याब्सन जिल्ला अध्यक्ष बाबुराम बन्जाडेको स्वागत तथा प्याब्सन जिल्ला सचिव बोधराज गौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij