
बुधवार , बैशाख १, २०७८
प्यूठान, १ वैशाख ।
प्यूठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जीप दुर्घटना हुँदा ५ जनाको निधन भएको छ भने १० जना घाईते भएका छन् । गुल्मीबाट स्वर्गद्वारीतर्फ जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना हुँदा उक्त हताहती भएको हो । घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भइ जीप भीरबाट झण्डै १ सय ५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
नयाँ वर्षको दिन १५ यात्रु लिएर धार्मिक तीर्थस्थल स्वर्गद्वारी गइरहेको सो जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवार रहेको प्रहरीले जनाएको छ । प्यूठान प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।
दुर्घटनामा परी जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारी र खरिदार यमलाल पन्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालक केशव कार्कीको उपचारका क्रममा भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए ।
घटनामा १० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भिर रहेकोले थप उपचारका लागि बुटवल वा काठमाडौं पठाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij