२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

ओमसतियामा दिदीबहिनी भेटघाट तथा शुभकामना आदानप्रदान

शनिवार , भाद्र ७, २०८२

  • 376
    Shares
  • 376
    Shares
  • भैरहवा, ७ भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाले हरितालिका तीजको अवसरमा भड्किलोपनालाई त्याग्दै मौलिक संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले एक विशेष कार्यक्रम आयोजना गरेको छ । शुक्रबार गाउँपालिकाको कार्यालय, हाटीफर्साटिकरमा दिदीबहिनी भेटघाट तथा शुभकामना आदानप्रदान नाम दिइएको कार्यक्रममा शिक्षा, स्वास्थ्य र विकासका सन्देशहरू समेत प्रवाह गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले महंगा होटलमा गएर तीज मनाउनुको सट्टा जनताको आँगनमै सुखदुःख साटेर पर्व मनाउनुको छुट्टै महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामी जनताको जनप्रतिनिधि हौं, त्यसैले जनतालाई छोडेर महंगा होटलमा गएर भड्किलो तीज मनाएनौं । यही जनताको बीचमा दुःखसुख बाँडेर रमाइलो गरौंला भनेर कार्यक्रम आयोजना गरेका हौं ।’ उहाँले सबै दिदीबहिनीको सहज पहुँच र मौलिकता, शिक्षा, स्वास्थ्य तथा विकास झल्किने गीतहरू प्रस्तुत गर्न पालिकामा कार्यक्रम राखिएको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोखरेलले वडाहरूमा छुट्टाछुट्टै कार्यक्रम गर्नुभन्दा पालिकामा संयुक्त रूपमा आयोजना गर्दा आपसी चिनजान, सद्भाव र एकता बढ्ने विचार व्यक्त गर्नुभयो । 
    पहिले वर्षभरीका दुःख बिसाउने पर्वको रूपमा रहेको तीज समयसँगै सबै नेपाली महिलाको साझा पर्व बन्दै गएकोमा वक्ताहरूले जोड दिएका थिए ।

    कार्यक्रमको एक विशेष आकर्षणको रूपमा गाउँपालिकाका कर्मचारीहरूले गीतको माध्यमबाट कार्यालयबाट प्रदान गरिने सेवाहरूका बारेमा जानकारी प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई मनोरञ्जनात्मक मात्र नभइ सूचनामूलक पनि बनाएको थियो । 

    कार्यक्रममा वडाअध्यक्षहरू प्रकाश सिंह चौधरी, बेल बहादुर बराल मगर लगायत गाउँ कार्यपालिका सदस्य तथा वडा सदस्यहरूले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । महिला तथा बालबालिका शाखा प्रमुख निर्मला पाण्डेले स्वागत तथा राजस्व शाखा प्रमुख अमृत पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।