
शुक्रवार , भाद्र ६, २०८२
भैरहवा, ६ भदौ । करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्स प्रा.लि.ले रुपन्देहीको भैरहवामा पहिलो ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ । यस मार्टबाट ग्राहकले यशोदा फुड्सका सम्पूर्ण उत्पादनहरु खरिद गर्न पाउनेछन् ।
बुटवल तथा काठमाडौंमा रहेका करेन्ट पोइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबारदेखि सिद्धार्थनगर नगरपालिका–७ स्थित नयाँ सडक (भैरहवा) मा करेन्ट मार्ट सञ्चालनमा ल्याएको हो ।
करेन्ट मार्टको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले भैरहवाका करेन्ट पारखीहरुका लागि मार्टले सहजै विविध परिकार उपलब्ध गराउने उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रको लगानी र निरन्तरताले नै मुलुकको आर्थिक गतिविधि चलायमान बनेको बताउँदै रोजगार सिर्जना र अर्थतन्त्रमा यसको ठूलो भूमिका रहने बताउनुभयो ।
नुडल्स पारखीहरू, विशेष गरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य रहेको कम्पनीका निर्देशक ऋषि भण्डारीले बताउनुभयो । उहाँका अनुसार करेन्ट मार्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । साथै, ग्राहकहरूले आफ्नो रुची अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् ।
विशेष गरी युवा पुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले भैरहवाबासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको उहाँले बताउनुभयो । कम्पनीले यसअघि बुटवल र काठमाडौंमा ‘करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको छ, जहाँ करेन्टका विभिन्न परिकारहरु पकाएर खान पाइन्छ ।
सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । ‘करेन्ट’ बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ । स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरमा प्रस्तुत गर्नु यशोदा फुड्सको मुख्य विशेषता हो ।
हालसम्म करेन्टका उत्पादनहरु विश्वका २८ बढी मुलुकमा औपचारिक रुपमै निर्यात हुने गरेको छ भने नेपाली रहेका अन्य देशहरुमा पनि उपहारको रुपमा लैजाने गरिएको कम्पनीका निर्देशक श्रवण बेरिवालले बताउनुभयो । करेन्टले यसअघि बुटवल र संघीय राजधानी काठमाडौंमा समेत करेन्ट मार्ट सञ्चालनमा ल्याइसकेको छ । देशभर २ हजार बढीलाई प्रत्यक्ष रोजगार सिर्जना गरिएको कम्पनीको दावी छ ।
कम्पनीका सञ्चालक मधुसुदन घिमिरेले करेन्टका पारखीहरुलाई लक्षित गरी यस्ता मार्टहरु विभिन्न सहरहरुमा सञ्चालन गर्न लागिएको बताउनुभयो ।
करेन्ट मार्टको उद्घाटन समारोहमा बजार प्रमुख राम भण्डारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij