२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ हो : गगन थापा

शुक्रवार , भाद्र ६, २०८२

  • 334
    Shares
  • 334
    Shares
  • काठमाडौं, ६ भदौ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभइ संघ नै रहेको बताउनुभएको छ ।

    काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको जिकिर गर्नुभयो ।

    काँग्रेस र नेकपा एमालेले सरकार बनाउँदै गर्दा संविधान संशोधन गर्नेकुरा पहिलो प्राथमिकतामा परेको उल्लेख गर्दै अब संख्या वा अन्य कुनै बहानामा पनि पछि हट्न नहुने बताउनु भयो । उहाँले ठूला शक्तिहरुले जोखिम उठाउनसक्नुपर्ने बताउनु भयो । संविधान संशोधनको विषय कसरी अघि बढाउने भन्नेमा छलफल गर्न सकिने बताउनु भयो । 

    महामन्त्री थापाले भन्नुभयो, ‘संविधान संशोधनमा यो त्यो, संख्या भन्नै पाइँदैन । जोखिम छ, जोखिम उठाउनुपर्छ । मुख्य शक्तिले जोखिम उठाउनुपर्छ । काँग्रेस र एमालेको अहिलेको सरकारले बनाउने बेलामा दुई वटा पार्टीले म संविधानको संशोधनको आवश्यकता महशुस गरेका छौँ, हामी गर्छौं भनेर आइसकेपछि यो बहस अघि बढाउनैपर्छ ।

    कसरी बहस अघि बढाउने भन्नेमा छलफल गर्न सकिएला तर बहस अघि बढाउनैपर्छ । उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष एउटै बनाऔँ । आयोगहरु राष्ट्रिय मानव अधिकार अयोग अन्तर्गत नै लगेर राखौँ । जिल्ला समन्वय समिति खारेज गर्न आवाज उठेको छ । संघीयताको सबैभन्दा ठूलो समस्या भनेको प्रदेश होइन, संघ हो । संघीयतामा हामी गइसक्यौँ तर संघ नै संघीयतामा आउन सकेको छैन । सेन्टर नै संघीयतामा गएको छैन ।’

    महामन्त्री थापाले संसद समावेशी बनाउने र पाँच वर्ष एउटै राजनीतिक दलले देशको नेतृत्व गर्ने अवस्था सिर्जना गर्नेगरी छलफल अघि बढाउन जरुरी रहेको बताउनु भयो । न्यायपालिकाको बारेमा पनि छलफल गर्न जरुरी रहेको बताउनु भयो । अदालतमाथि यसअघि यति धेरै प्रश्न उठेको कुरा आफूले थाहा नपाएको बताउनु भयो ।