२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

किसानलाई मलखादको व्यवस्था र गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनको माग गर्दै धर्ना

बुधवार , भाद्र ४, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ४ भदौ । किसानलाई प्रयाप्त मलखाद, बीउबिजन र सिंचाईको व्यवस्था गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग राख्दै नागरिक सरोकार मञ्च नेपाल रुपन्देही, सिद्धार्थनगरले धर्ना दिएको छ । मंगलबार मञ्चले जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि धर्ना कार्यक्रम गरेको हो ।

    कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष आनन्द प्रसाद गुप्ताले सरकारले किसानको समस्या समाधान गर्न नसकेको बताउनुभयो । उहाँले कृषिप्रधान देशमा किसानले मलखाद नपाएको बताउनुभयो । अध्यक्ष गुप्ताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने भए पनि सरकारले यसतर्फ ध्यान नदिएको बताउनुभयो । ‘विमानस्थल नियमित सञ्चालनका लागि सरकारले यथाशिघ्र कदम चाल्नुपर्छ, ’उहाँले भन्नुभयो ।

    कार्यक्रममा उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष रोमलाल गिरी, नागरिक सरोकार मञ्च नेपाल रुपन्देहीका वरिष्ठ सल्लाहकार गोविन्दराज पाण्डे, सल्लाहकार लोकराज पोखरेल, वरिष्ठ उपाध्यक्ष विकास रायमाझी, समाजसेवी अजय कुमार गुप्ता, मञ्चका सह–सचिव अनन्तराज पाण्डे, सदस्य जीवन प्रकाश उपाध्याय, इदुल अली लगायतले किसानले मल नपाउँदा खास्ती खेप्नुपरेको तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा अरबौं लगानी जोखिममा परेको धारणा राख्नुभयो ।

    यसैबीच नागरिक सरोकार मञ्च नेपाल रुपन्देहीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । मलखाद उत्पादन गर्ने कारखाना यथाशिघ्र नेपालमै स्थापना गर्न आवश्यक व्यवस्था गर्नुपर्ने सरकारसँग मञ्चले माग राखेको हो । साथै कृषि पेशाको लागि आवश्यक पर्ने रासायनिक मलखाद, उन्नत जातको बिउबिजन, सिंचाई, आवश्यक प्रविधि र प्राविधिक तथा बजारको व्यवस्थापन यथोचित समयमा हुनको लागि समेत योजना निर्माण गरी कार्यान्वयन गनुपर्ने मञ्चको माग छ ।

    04538d14-3c26-4186-8110-2d5480f773fc.jpeg

    त्यस्तै अरबौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा उद्योगी–व्यवसायी र लगानीकर्ताहरु आर्थिक रुपमा धरासायी भएकाले विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधारहरु यथाशिघ्र व्यवस्था गर्न मञ्चले सरकारको ध्यानाकर्षण गराएको छ । आफ्ना मागलाई समयमै कार्यान्यवन नगरिएमा जस्तोसुकै संघर्ष र आन्दोलन गर्न पनि बाध्य हुने मञ्चले ज्ञापनपत्रमार्फत चेतावनी समेत दिएको छ ।