
आइतवार , भाद्र १, २०८२
गोरखा, १ भदौ । गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ भएको छ ।
आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अस्पतालको उद्घाटन तथा सेवा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताउनु भयो ।
उहाँले ठूलो लगानीमा पहाडी जिल्लामा अस्पताल सञ्चालन गरेको भन्दै चितवन र गोरखाका व्यवसायीलाई धन्यवाद दिनुभयो । निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवा सबै जनताको पहुँचमा पुग्नुपर्ने बताउनु भयो । गण्डकी प्रदेश स्वास्थ्यको हव बन्ने चरणमा रहेको भन्दै उहाँले युवा जनशक्तीलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
चितवन र गोरखाका व्यवसायीहरु मिलेर ५५ करोडको लागतमा एनपिआई गोरखा अस्पताल निर्माण गरेका हुन् । २०७७ साल माघ ५ गतेबाट निर्माण शुरु गरेको अस्पताल गतवर्ष नै निर्माण सम्पन्न भएपनि भवन पास (निर्माण सम्पन्नताको प्रमाणपत्र) प्राप्त हुन समय लागेका कारण सञ्चालनमा ढिलाइ भएको थियो ।
९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै छुट्टाछुट्टै क्याविन समेत निर्माण गरिएको छ । जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको जनाएको छ । अस्पतालले सुरुमा विशेषज्ञ चिकित्सकहरु सहित फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने अस्पतालका प्रवन्ध निर्देशक पुष्पराज धितालले जानकारी दिनुभयो ।
उहाँकाअनुसार अस्पताल आउने बिरामीले नाक, कान, घाँटी छालारोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत पाउनेछन । अस्पतालले आफ्नै फार्मेशी समेत सञ्चालन गरेको छ । अस्पतालले सेवा शुभारम्वको अवसर पारेर आईतवार ओपिडी निःशुल्क व्यवस्था गरेको छ भने सबै प्रकारका उपचारमा ५० प्रतिशत छुट दिइने निर्देशक धितालले जानकारी दिनुभयो ।
उहाँकाअनुसार भदौ २ र ३ गते उपचारमा आउने विरामीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस अस्पतालबाट गोरखासँगै लमजुङ, तनहुँ र धादिङका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij