२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

निराशा फैलाउने तत्वबाट समाजलाई जोगाउनुपर्छ : खिमलाल भट्टराई

शनिवार , श्रावण ३१, २०८२

  • 741
    Shares
  • 741
    Shares
  • भैरहवा, ३१ साउन । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराईले निराशा फैलाउने तत्वबाट समाजलाई जोगाउनुपर्ने र स्वयं आफू पनि जोगिनुपर्ने बताउनुभएको छ ।उहाँले वर्तमान सरकारले राम्रो काम गरेको र यो सकारात्मक कुरा भएको तथा अझै गर्न बाँकी रहेको बताउनुभयो ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना कार्यक्रममा भट्टराईले यस्तो बताउनुभएको हो ।

    ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्रमा सुधार ल्याएको छ, ठप्प भएका विकास निर्माण कार्यलाई गति दिने काम भएको छ, धेरै सकारात्मक काम भएको छ, ठीक भएको छ भन्ने आफूले बुझेर अरुलाई पनि बुझाउनुपर्छ, ’उहाँले भन्नुभयो ।

    अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहनुभएका भट्टराईले संसारका विद्यार्थी नेपालमा आकर्षित गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका विद्यार्थीहरुलाई यही पढाएर विदेशी विद्यार्थीहरुलाई यहाँ ल्याउनेतर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । त्यसका लागि शैक्षिक संस्थाहरुलाई अझ सबल बनाउनुपर्ने उहाँको भनाइ छ । दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा चाहिएको उहाँले बताउनुभयो । ‘नेपालमै बस्ने, नेपालमै रमाउने वातावरण बनाउनुपर्छ, यही नै वर्तमान सरकारको इच्छा हो, ’उहाँले भन्नुभयो ।

    उहाँले नेपालमै पढ्ने मनोविज्ञान बनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एमाले रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत रहनुभएका नेता भट्टराईले अब शैक्षिक क्रान्तिको आवश्यकता रहेको र पढिसकेपछि रोजगारीको अवसर पाउन सक्ने शिक्षा आवश्यक रहेको धारणा राख्नुभयो ।

    भट्टराईले वर्तमान सरकार प्राविधिक, रोजगारमूलक र वैज्ञानिक शिक्षामा अग्रसर भइरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अध्ययनको लागि विदेश जाने ट्रेण्ड परिवर्तन गर्न वर्तमान सरकार लागिरहेको समेत बताउनुभयो । उहाँले शैक्षिक परामर्श केन्द्रहरुले नेपाली विद्यार्थीहरु विदेश पठाउने मात्रै नभइ विदेशीहरुलाई नेपालमा पढ्न आउन प्रेरित गर्न पनि आग्रह गर्नुभयो ।

    अनेरास्ववियु उपमहासचिव कमल जोशीले अनेरास्ववियुले अध्ययनशील र जेहेन्दार विद्यार्थीलाई गरेको सम्मानले विद्यार्थीहरुमा थप आत्मविश्वास बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।

    एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगरका नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले समृद्ध नेपालको लागि अबको पुस्ता अनेरास्ववियुमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
    एमाले रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले विद्यार्थीहरु देशमै बसेर पढ्ने र देशमै केही गर्ने अठोटका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, रुपन्देही जिल्ला कमिटी सदस्य तथा विद्यार्थी सह–इञ्चार्ज लक्ष्मी केसी, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा खेलकुद विभाग प्रमुख सागर न्यौपाने, लुम्बिनी प्रदेश उपाध्यक्ष सरोज ठकुरी, एमाले नगर कमिटी अध्यक्ष चक्र बहादुर थापा, शैक्षिक परामर्शकर्ता गोविन्द अधिकारी, अनेरास्ववियु जिल्ला अध्यक्ष अर्जुन गैरे लगायतले बोल्नुभएको थियो ।
    कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेल, सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख उमा काफ्ले, एमाले जिल्ला सदस्यहरु थानेश्वर पौडेल, श्री रायमाझी, कृष्ण मल्ल ठकुरी, सन्दिप गुप्ता, अनेरास्ववियु केन्द्रीय सदस्य निरज आचार्य, मनिषा केसी लगायतको आतिथ्यता रहेको थियो ।

    अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष केएल पाण्डेको अध्यक्षता तथा नगर कोषाध्यक्ष कमल घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा सिद्धार्थनगर अन्तर्गतका विद्यालयबाट उत्तीर्ण र यहाँ बसोबास गरी सिद्धार्थनगरबाहिरका विद्यालयबाट उत्तीर्ण गरी ७ सय उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष सरोज ठकुरीले जानकारी दिनुभयो ।