
शुक्रवार , श्रावण ३०, २०८२
भैरहवा, ३० साउन । मल–खादको चरम अभाव समस्या समाधान गर्न माग राख्दै संघीय लोकतान्त्रिक मोर्चाले शुक्रबार रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेको छ । मोर्चामा आबद्ध दलहरुले विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी र जनता प्रगतिशिल पार्टी लगायत मोर्चामा आबद्ध दलहरुले भैरहवामा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्नामा बसेका थिए ।
सरकारले ठोस निर्णय लिन नसक्दा मल–खादको चरम अभाव सिर्जना भएकोले सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताउनुभयो । किसानको समस्यालाई समयमा सम्बोधन नगरिए कडा आन्दोलनमा जान बाध्य हुने उहाँले चेतावनी दिनुभयो ।
विरोध तथा धर्ना कार्यक्रममा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङले मोर्चाको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिनुभयो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य नन्दा चौधरीले किसानले समयमै मल नपाउनुको साथै उत्पादनपछि उत्पादनको उचित बजार मूल्य नपाएको बताउनुभयो ।
जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवले वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको बताउनुभयो । त्यस्तै जसपा नेपाल रुपन्देहीका सचिव विष्णु अधिकारी, लोसपाका युवा नेता रामकिसुन नायक, लोसपा सिद्धार्थनगरका अध्यक्ष बसिर खान, जसपा नेपाल सिद्धार्थनगरका अध्यक्ष जावेद आलम लगायतले बोल्दै कृषिप्रधान देश नेपालमा किसानलाई मल खाद उपलब्ध गराउन नसकेको र सरकार कानमा तेल हालेर बसेको बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले संघीय लोकतान्त्रिक मोर्चाले बुझाएको ज्ञापनपत्र नेपाल सरकारसमक्ष पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij