
शुक्रवार , श्रावण ३०, २०८२
काठमाडौं, ३० साउन । नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्रलक्ष्मी गैरैले नेपालमा महिलामाथि अझै पनि सम्पतीको अधिकारमा विभेद कायमै रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले मतदान अधिकारदेखि वंशजको अधिकारसम्मका आन्दोलनमार्फत महिलाले अधिकार प्राप्त गरेपनि सम्पती अधिकारको सवालमा सामाजिक चेतना अझै परिवर्तन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले २०६२/६३ को जनआन्दोलनका क्रममा महिलाको नागरिकता, वंशज र सम्पती अधिकारका मुद्दा उठाएपछि केही कानुनी प्रगति भएपनि व्यवहारमा लागू हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले संविधानको कार्यान्वयन पूर्ण रुपमा गर्न नसक्दा समाजमा महिलामाथिको विभेद अन्त्य हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज हामी कता गइरहेका छौं ? कुन अवस्थामा छौं । हिजो हामीले अधिकारके लडाइँ लड्नुपर्यो । महिलाहरुलाई त लामो समयसम्म मतदान गर्ने अधिकार थिएन । हामीले मतदानको अधिकार लडेर ल्याउनुपर्ने, नागरिकताको अधिकार लडेर ल्याउनुपर्ने, यतिमात्रै होइन हामीले २०६२/६३ को आन्दोलनमा आउँदा नागरिकको अधिकारको कुरालाई उठायौं ।
वंशजको अधिकारको कुरालाई उठायौं र सम्पतीको कुरालाई उठायौं । यसरी लडेर हामीले केही अधिकारहरु प्राप्त गर्यौं । तर सम्पतीको अधिकारको कुरा गर्दा छोरा र छोरीलाई विभेद नगर्ने भन्यौं । कतिपय समाजमा गाडिएर रहेको कुरालाई हामीले भत्काउन सकेनौं । आजपनि समाजमा छोरा छोरिबीच विभेद छ । छोरीलाई सम्पती दिने चर्चा हुदैन । विवाह गरेर दिने चर्चा हुन्छ । यो विभेद कायमै रहेको छ । यसको समाधानका लागि सरकार तयार रहनुपर्छ ।’
उहाँले नागरिकतासम्बन्धी ऐन संशोधन विधेयकमा महिलाले स्वघोषणा गर्नुपर्ने तर पुरुषले गर्नु नपर्ने विभेदकारी प्रश्ताव खारेज गर्न समेत माग गर्नुुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij