मंगलवार , चैत्र ३१, २०७७
बुटवल, ३१ चैत्र।
नयाँ खालको र पहिले भन्दा कडा स्वरुपको कोरोना भाईरसको संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउन बिज्ञहरुले आग्रह गरेका छन्। ब्राजिल, भारत लगाएतका बिश्वका बिभिन्न मुलुकमा कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि संक्रमण नियन्त्रणका लागि नेपालमा उच्च सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका हुन्। 
बिश्वका बिभिन्न मुलुकमा पहिलेको भन्दा कडा खालको नयाँ कोरोना भाईरसको संक्रमण अर्थात कोभिड १९ को नयाँ स्वरुप देखिएकोले नेपालमा तत्काल सजगता र सर्तकता आवश्यक रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताएका छन्। यो भाईरसको संक्रमण गत सालको भन्दा बढि असरदायक देखिएकोले पुर्णरुपले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुको बिकल्प नरहेको डा. राजभण्डारीको भनाई छ।
संक्रमणबाट बच्न अनिवार्य रुपमा एक अर्कामा सामाजिक, ब्यक्तिगत र भौतिक दुरी कायम राख्ने, घर बाहिर निस्कदा माक्सको प्रयोग गर्ने, सावुन पानीले बारम्बार हात धुने र स्यानिटाईनर प्रयोग गर्ने लगाएतका मापदण्डहरु पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो पटक देखिएको भाइरसको पहिलेकै जस्तै लक्षण देखिने तर मृत्युदर बढिरहेकोले थप जोखिमयुक्त बन्दै गएको बताए।
डा. गौतमका अनुसार नयाँ कोरोना भाईरसको संक्रमण दर ७० प्रतिशत भन्दा बढि तिब्र छ। हाटबजार, बिद्यालय, पार्टी प्यालेस, सार्वजनिक यातायात जस्ता मानिसहरुको भिडभाड हुने स्थानमा सबैभन्दा बढि सतर्कता आवश्यक रहेको छ। नेपालमा दैनिक ५ सय भन्दा बढि संक्रमित फेला पर्न थालेको र सबै उमेरका ब्यक्ति संक्रमित हुने गरेको पाईएको छ। ति मध्ये २ सय जनामा नयाँ र कडा खालको भाइरस देखिने गरेको छ।
केहीदिन यता कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको र मृत्यूदर पनि बढेकोले संक्रमण समुदायमा फैलिने खतरा पनि बढेको हो। गतबर्ष करिब ५ प्रतिशत बालबालीकामा कोरोना भाईरसको संक्रमण देखिएकोमा अहिले १५ प्रतिशत भन्दा बढि बालबालीकामा देखिएको छ। संक्रमण देखिएका बालबालिकामा ज्वरो आउने, झाडापखाला लाग्ने र रुघाखौंकी लाग्ने जस्ता लक्षण देखिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij