
शुक्रवार , श्रावण ३०, २०८२
बुटवल, ३० साउन । भगवान श्रीकृष्णको ५२५२ औं जन्मोत्सव यही शनिबार विश्वभर विभिन्न आध्यात्मिक एवं धार्मिक कार्यक्रमको आयोजना गरी हर्ष र उल्लासका साथ मनाइँदैछ । यसैक्रममा बुटवलको मिलनचोकमा पनि श्रीकृष्ण जन्माष्टमी पर्व विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने तयारी भइरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनांमृत संघ (ईस्कोन) बुटवलले जनाएको छ ।
बिहान ४ बजेदेखि सुरु हुने सो विशेष धार्मिक साँस्कृतिक कार्यक्रम राती १२ बजे श्रीकृष्ण जन्मोत्सव मनाएपछि सम्पन्न हुने ईस्कोन बुटवलका अध्यक्ष करनधर दासले बताउनुभयो । अध्यक्ष दासका अनुसार बिहान सबेरै मंगल आरती, मन्त्र ध्यान जप, दर्शन आरती तथा गुरु पुजा, श्रीमद्भागवतम कथा वाचन, हरिकृतन, साँस्कृतिक कार्यक्रम, अभिषेक तथा कृतन, नाटक प्रस्तुति, श्रीकृष्ण कथांमृत प्रवचन, श्रीश्री राधा–श्यामसुन्दर महाभिषेक तथा महाप्रसाद वितरण कार्यक्रम हुनेछन् ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दासले सम्प्र्ण मानव जातीको कल्याण र शान्तिको कामनासहित समाजमा धार्मिक जागरण ल्याउने मूल उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । प्रेम र भक्ति मार्गका प्रतीकका रुपमा पूजा आराधना गरिने श्रीकृष्णको जन्मोत्सव व्यवस्थित रुपले मनाउने उद्देश्यसहित वि.सं. २०७० सालदेखि संस्थागत रुपमा र विशेष रुपले मनाउन थालिएको उहाँले बताउनुभयो । अध्यक्ष दासले भन्नुभयो–‘संस्थापकाचार्य श्री श्रीमद् एसी भक्ति वेदान्त स्वामी प्रभुपादबाट स्थापना भएको अन्तर्राष्ट्रिय कृष्ण भावनांमृत संघ (ईस्कोन) भगवानलाई कृतनबाट नै जोड्न सकिने हुँदा यसलाई प्राथमिकता दिइदै आएको छ । आफ्नो मूल उद्देश्य वैदिक धर्म संस्कारको प्रचार गर्नु रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो—‘आध्यात्मिक संस्था हो जो सबै जात जातिको हितमा काम गर्दै आएको छ ।’
कार्यक्रममा केसी दमनदासले धर्मको बारेमा बुझाउने, सबैलाई भगवानप्रतिको आस्था जगाउने सेवकका रुपमा आफुहरुले अभियान थालेको बताउनुभयो । उहाँका अनुसार सत्कर्ममा मानव जातीलाई ल्याउने यो अभियान हो । शास्त्र बुझेकाले सन्कृतनलाई मान्ने भन्दै उहाँले बुटवलमा पाँचसय जना साधक सदस्यहरु रहेको जानकारी दिनुभयो । आफ्नो धर्म आफै बिर्सेर विदेशीबाट सिक्नुपर्ने अवस्था आएको भन्दै उहाँले चिन्ता व्यक्त समेत गर्नुभयो ।
कोषाध्यक्ष शारदा केसीले संस्थाले आध्यात्मिक, धार्मिक कार्यहरु मात्रै नगरेर विभिन्न सामाजिक कार्यहरुमा पनि अग्रसर रहेको बताउनुभयो । विभिन्न स्कूल कलेजहरुमा माईन्ट कन्ट्रोल, योग्य मानव बनाउने अभिमुखीकरण र सामाजिकिकरणका आध्यात्मिक कक्षाहरु चलाउँदै आएको पनि उहाँले बताउनुभयो । सदस्य भरतजंग कुवँरले सामाजिक अभियान अन्तरगत विभिन्न कामहरु गर्दै आएको भन्दै बालबालिकाहरुलाई खाजा खुवाउने, युवाहरुलाई मन्त्र मेडिटेसनमार्फत एन्जाईटी समाधान, गौमाताको संरक्षण जस्ता धेरै कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij