
बिहिवार , श्रावण २९, २०८२
भैरहवा, ३० साउन । हामी सानो हुँदा आमा पर बसेर खाना पकाउनुहुन्थ्यो । अलि पर बसेर हामी चारजना लेख्ने पढ्ने गर्दथ्यौ । सायद म एक कक्षामा पढ्थे होला । दाइले क पछि के आउँछ भनेर सोध्दा म आमाको अनुहारमा हेर्थे । आमा परबाट इसाराले ख भन्नुहुन्थ्यो । म खुसी हुदै दाइतिर फर्केर ख भन्थे । मलाई लाग्थ्यो आमालाई सबै आउने रहेछ । पछि कक्षा बढ्दै गयो, दाइले पढाउने बेलामा पढ्न नआए पुनः आमातिर हेर्दा आमा पनि हामीतिर हेरिरहनुुहुन्थ्यो । आमा हेरिमात्र रहनुभयो । केही बोल्नुभएन, मेरो मनमा खुल्दुली लाग्यो, आमाले किन नभनेको होला भनेर । आमा त पढ्न लेख्न नजान्ने हुनुहुँदो रहेछ ।
आमाले त अरुले पढेको सुनेर यो अक्षरपछि यो आउँछ भन्ने कखरा कण्ठै भएछ । आमा भन्नुहुन्थ्यो, हाम्रोे पालामा छोरी पढाउने चलनै थिएन । छोरी अर्काको घर जाने जात हो, घर धन्दा, ढिकी, जातो, लिपपोत र खाना पकाउन जान्ने हुनुपर्छ, पढाइ केही चाहिदैन भन्ने गरेकाले हामीहरुले पढ्ने अवसर नै पाएनौं ।
मामाहरु पढेको देखेर छेउमा गएर लुकेर सुन्दा बुवा कराउनुहुन्थो, के सुनेर बसेकी छोरी मान्छेले पढ्न पर्दैन, राम्रोसँग काम गर्न जान्ने भए हुन्छ जाउँ राम्रोसँग घरधन्दा गर’ आमाले बाल्यकाल सम्झदै भन्नुभयो–‘त्यतिबेला अलिअलि मात्रै पढ्न पाएको भए पनि अहिले कति सजिलो हुने थियो होला ?
घरभान्सा, ढिकी जातो, मेलापर्व र गाईवस्तु त उबेलाका छोरी मान्छेहरुको सहारा नै हो भन्ने समाजमा हाम्रो हुकाई भयो । ‘म १४ वर्षको हुँदा मेरो विवाह भएको थियो, मैले विवाह गर्दा तिम्रो बुवा मभन्दा १० वर्ष जेठो हुनुहुन्थ्यो, आमाले भन्नुभयो ।
घरको एक मात्र बुहारी, सासु नभएको घर, एकल ससुरा र घरपरिवार सबै समाल्नुपर्ने बाध्यता आयो । माइतीको प्यारी छोरी, दिदीबहिनी भए पनि सानै उमेरमा विवाह भएपछि घरको सबै व्यवहार सम्हाल्नुपर्ने अवस्था आइलाग्यो । सबैको इच्छा बुझेर काम गर्नु बाध्यता एकातर्फ थियो भने अर्कोतर्फ सबैलाई खुवाएर मात्र खानुपर्ने चलनले कम्ती अप्ठ्यारो थिएन । उहाँको ती भोगाई सुन्दा कथा जस्तो लाग्छ । तर, ती जन्जिर र कहालीलाग्दा दिन पार गरेर आउँदा ती दिन भोगाइमा कस्ता थियो होला ?
उ बेलामा महिनावारी नहुदै छोरीको विवाह हुने चलन थियो । बिहे गरेर गएको चार वर्षमा आमा महिनावारी हुनु भएको रे, महिनावारी पनि सजाय भन्दा कम नहुने आमाको अनुभव छ । उबेला अहिले जस्तो प्याड हुँदैन थियो । आफूले लगाएर पुराना भएका धोतीको टालालाई पट्टाएर लगाउनुपर्ने । एउटै मात्र लुगा लगाउनुपर्ने, एउटै भाडामा नचोखिने बेलासम्म खानुपर्ने, भान्सामा जान पनि नपाइने, कतिबेला खान देलान भनेर कुरेर बस्नुपर्ने महिनावारी भएकाले अरुलाई छुन पनि नहुने अवस्था थियो । महिनावारी हुँदा अरु काम गर्न नभए पनि गाईवस्तु चराउन, घाँसदाउरा गर्न र आफूभन्दा ठूला भारी न बोकी त कहाँ पुग्थ्यो र ।
आमा १८ वर्षको हुँदा पहिलो सन्तानको रुपमा ठूलो दिदी जन्मनुभएको रे । पहिलो सन्तान जन्माउँदा त कान्छी सासुले सहयोग पनि गर्नुभयो, उ बेला बच्चा घरमै जन्माउने चलन थियो ।
पहिलो सन्तान जन्माउँदा जस्तो सहयोग अन्य सन्तान जन्माउँदा पाइन, आमाले भन्नुभयो ‘जति पहिलो सन्तान जन्माउँदा सहयोग पाए पछिका सन्तानहरु जन्माउँदा पाइन, बेथाले च्यापन लागेपछि बच्चा नुहाउने पानीदेखि साल नाल काट्ने बिलेट र थाङ्ना सबै चिज घर पछाडी लगेर राखेर घरको भित्ता र बारीको काल्नोको ओट लगाएर सातजना छोराछोरी जन्माए ।’
घरमा आफूभन्दा ठूलो महिला सदस्य नहँुदा सारै दुःख हुने रहेछ, सासु नभएको घर भएर पनि होला सबै समस्या आफैले भोग्नुपरेको, विगतका कहालीलाग्दा दिन सम्झदा अहिले पनि शरीर जिरिङ्ग हुन्छ ।
पेटमा बच्चा, काखमा बच्चा राखेर पिठ्युमा पानीका गाग्री र घाँसका भारी बोक्नुपर्ने अवस्था थियो । खेतबारी, घर, गोठ सबै भ्याउनुपर्दा पनि तलाई गाह्रो भयो भन्ने कोही थिएन, त्यसरी हामीले दिन कटाएर आएका हाै, आमाले भन्नुभयो ।
आज भोलि मेशिनले गर्ने काम उबेला सबै काम हामी महिलाले गर्नुपर्दथ्यो । बुढा भएका ससुरा, सानासाना छोराछोरी सबै मेरै बाटो हेर्ने गर्थे, कतिबेला आउँछे र खान दिन्छे भनेर । सबैजनालाई खाना दिएर बच्चाहरु सुताएपछि पनि भोलिको लागि गाईवस्तुको दाना बनाउने, कोदो मकै ढिकी जातो गरेर सुत्दा रातीको १२ बज्ने गर्थ्यो । अहिलेजस्तो घरघरमा पानीका धारा थिएन । एक घण्टाको दुरीमा रहेको पानीको धारोमा पनि पानी थाप्नेको लामो भिड हुन्थ्यो, त्यसैले बिहानको तिनै बजे उठेर पानी लिन जाने चलन थियो ।
अन्दाजमा उठ्नुपर्ने, सजिलो गरी सुते बिहान धेरै बेरसम्म सुतिन्छ भन्ने डरले सधै गुन्द्रीको बिटमा सुत्नुभयो रे । सायद त्यही भएर होला आज भोलि पनि आमा छेउ च्यापेर सुत्नुहुन्छ । बाबा आमाका हामी सातजना सन्तान । यति धेरै सन्तान जन्माउने रहर होइन, त्यति बेलाको समय र परिस्थिति दोषी हो जस्तो लाग्छ ।
हजुरबुवाले तीनवटी बिहे गर्दा कान्छी श्रीमती हाम्री हजुरआमाबाट मात्र सन्तानको रुपमा बुवा र तीनजना फुपु जन्मनुभएको थियो । बुवा ९ वर्षको हुँदा हजुरआमा बित्नुभएछ । बुवाभन्दा सानासाना फुपुहरुको सबै जिम्मेवारी बुवाले नै समाल्नुपर्ने भयो । सानैमा आमा गुमाएर होला घरमा आमाको जस्तै भूमिका निभाउने हाम्री आमालाई बुवा र हजुरबुवाले आँखा भन्दा पर जानै दिनुभएन रे ।
आमा आत्तिएर माइत जान्छु भन्यो भने पनि हजुरबुवाले माइत जान दिनुहुन्थेन । म मरेपछि जालिस बुहारी, अहिले नजा भन्नुहुन्थ्यो, आमाले भन्नुभयो–‘पहिलो सन्तान जन्माउँदा मात्रै सुत्केरी बस्न गएकी थिए, त्यसपछि भने लामो समयको पर्खाइपछि मात्रै माइत गए ।’ आमा भन्नुहुन्छ ।
मेरी आमाले पनि आठजना सन्तान जन्माउँदाको पीडा मैले राम्रोसँग थाहा पाएकी थिए । आमाले भोगेको पीडा मैले भोग्न नपरोस् भनेर मैले दुई छोरी र दुई छोरा जन्मेपछि परिवार नियोजन गर्ने सोच बनाए । घरबाट ३ घण्टाको दुरीमा परिवार नियोजनको घुम्ति शिविर आएको थाहा पाएर परिवार नियोजन गर्ने प्रयास पनि गरे । तर, ससुराबुवाले परिवार नियोजन गरे, घर आउनुपर्दैन भनेर गाली गर्नुभयो । त्यसपछि म यो विषयमा कहिल्यै अगाडि बढ्ने हिम्मत गरिन, आमाले सुनाउनुभयो–परिवार नियोजन नभएपछि तीन जना छोरी जन्मिएका हुन् ।
आमाका कुरा सुनेपछि मलाई पनि अचम्म लाग्यो, आमाको शरीर के कुराले धानेको होला ? यति हुँदा पनि कहिल्यै रिस नउठ्ने आमाको मुहार हेरेर म पनि त्यतै हराउँछु ।
आमाको बानी व्यहोरा हेरेर हामी मात्रै होइन बुवा पनि यही भन्नुहुन्छ । जति दुःखकष्ट, संघर्ष गर्दा कमजोर र नथाकेकी मेरी आमा परिवारको एक जना सदस्यको अकल्पनीय मृत्युपछि भने निकै टुट्नुभएको छ । सन्तान गुमाउनुको पीडा बाबाआमाको आँखामा छर्लङ्ग देख्न सकिन्छ। सातजना छोराछोरीलाई कुनै भेदभाव नगरी उचित शिक्षा संस्कार र कर्तव्य पूरा गर्नुभएका आमाबुवाले जीवनका हरेक आरोह अवरोहलाई सजिलै हासिल गर्नुभएको छ । हाम्री आमाका प्रेरणादायी संघर्षलाई हामी सन्तानले पनि अनुसरण गर्नुपर्नेछ । उमेरले तीन बीस दश कटेकी आमाको कपाल सेतै फुलेको छ । तर, यस्तो लाग्छ यो कपालसँगै आमाका संघर्ष र अनुभवहरु फुलेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij