
बिहिवार , श्रावण २९, २०८२
काठमाडौं, २९ साउन । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।
बिहीवार काठमाडौंमा दुवै पार्टीले कार्यगत एकताको पत्रमा सहमति जनाएका हुन् । जसपाको तर्फबाट अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट अध्यक्ष राजेन्द्र महतोले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो । कार्यगत एकता भएपछि पनि अन्य कुनै दलसँग छुट्टै सहकार्य, कार्यगत एकता, मोर्चा निर्माण वा दल एकता गर्नलाई यो कार्यगत एकता वाधक नहुने बताइएको छ ।
त्यस्तो अवस्थामा पनि यो कार्यगत एकता कायमै रहने र आचारसंहिता दुई दलबिचको केन्द्रिय संयोजन समितिले पारित गरी जारी गरेका निर्देशनहरू तथा प्रदेश र जिल्ला संयोजन समितिहरूले गरेका निर्णयहरू दुबै दलले पालना गर्नुपर्नेछ । जुन दलले बैठकको अध्यक्षता गरेको हुन्छ सोही दलले पत्रपत्रिका, टेलिभिजन, एफ.एम.लगायतका सञ्चार माध्यमहरूको समन्वय र बैठकका निर्णयहरूको बिफिङ गर्ने बताइएको छ ।
संयुक्त रूपमा गरिने सार्वजनिक कार्यक्रमहरूमा दुई दलबिचको कार्यगत एकताको उद्देश्य, नीति र कार्यक्रमको आधारमा आफ्नो मन्तव्य दिनुपर्ने सहमति भएको छ । प्रत्येक घटकहरूले आफूलाई दिएको जिम्मेवारी समयमै पूरा गर्नुपर्ने र संयुक्त कार्यक्रमहरूमा एउटा पार्टीले अर्को पार्टीमाथि आरोप प्रत्यारोप गर्न तथा कार्यगत एकताको नीति विरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्न नपाइने उल्लेख छ ।
आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न दुवै दल स्वतन्त्र हुने बताइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij