
बिहिवार , श्रावण २९, २०८२
काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधानमन्त्रीलाई एकपछि अर्को प्रश्न गर्दै सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले सरकारको तिब्र आलोचना गर्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले आर्थिक वर्ष २०८१/८२ मा साना सहकारी वचतकर्तालाई पाँच लाख रुपैयाँ फिर्ता गर्ने प्रचण्ड नेतृत्वको सरकारको नीति समेत कार्यान्वयन नगरिएको बताउनु भयो । रिक्सा, सैलुन, चटपटे व्यवसाय सञ्चालन गरेका वचतकर्ताको फिर्ता गर्नुपर्दैन ? उहाँको प्रश्न छ ।
उहाँले मिटरब्याज पीडितका लागि अघिल्लो सरकारले अघि सारेको न्यायिक छानबिन र कारबाही प्रक्रिया रोकिएकोप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माण ढिलाईबारे समेत प्रहार गर्दै तेस्रोपटक म्याद थपिसक्दा पनि काम सम्पन्न नभएको उल्ले गर्नुभयो । उहाँले सिंहदरबार परिसरमै निर्माणाधीन संसद भवनको प्रगति र विवरण संसदमा प्रश्तुत नगरेको विषयमा पनि प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८१/८२ मा साना सहकारी बचतकर्ताको पाँच लाख रुपैयाँ फिर्ता गर्ने नीति किन कार्यान्वयन गर्न सक्नु भएन ? रिक्सा चलाएर, सैलुन चलाएर चटपटे बेचेर साना किसानहरुका बचतहरु फिर्ता गर्नु पदैन ? मिटरब्याज पीडितहरुको न्यायको लागि प्रचण्ड सरकारले अघि सारेको न्यायिक छानविन र कारबाही प्रक्रिया किन रोकियो ? तपाईले अस्ति त कीर्तिपुर क्रिेकट रंगशाला बनिसकेको हेर्न जान भनेर सामाजिक सञ्जालमा जुहारी खेल्नु भएको थियो ।
तेस्रो पटक म्याद थप हुँदा समेत खै रंगशाला बनेको ? सिंहदरबारभित्रै संसद भवन निर्माणको स्थिति के छ ? किन यो विवरण यहाँ प्रश्तुत भएन ? किसानहरुले समयमा मलखाद पाएका छैनन् । आज मात्रै कृषिमन्त्रीज्युले यहाँ केही जानकारी दिने कोशिस गर्नुभयो । आयात गरिएको मल समेत किसानको खेतमा पुगेको छैन । सत्तारुढ दलकै नेताहरुले पटक पटक मलका कुराहरु उठाउँदा सरकार किन सुन्न तयार छैन ।’
उहाँले आयातित मल समेत किसानको खेतमा नपुगेको र सत्तारुढ दलकै नेताहरुले पटक–पटक आवाज उठाउँदा पनि सरकार किन सुन्न तयार छैन ? भन्दै प्रश्न गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij