२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

नेपाल रहुन्जेल नेपाली काँग्रेस रहन्छ : खाण

बिहिवार , श्रावण २९, २०८२

तिलोत्तमा, २९ साउन । नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले नेपाल रहुन्जेलसम्म कांग्रेस पनि जीवित रहने बताउनुभएको छ । उहाँले पार्टीको आकार कहिले ठुलो हुने वा सानो हुने भए पनि काँग्रेस विलय नहुने बताउनुभयो । 

उहाँले काँग्रेस ४ पुस्तामा रहेको भन्दै बाजे, बाउ, नाति, पनाति पुस्ता कहिल्यै पनि नहराउने बताउनुभयो । काँग्रेसको विगत रहेको, वर्तमानमा पनि रहेको र भविष्य पनि रहने उहाँको भनाइ छ । नेपाली काँग्रेस तिलोत्तमा नगरपालिका वडा नम्बर १३ को वडा भेलामा बोल्दै खाणले काँग्रेसका कार्यकर्ता कर्म गर्नकै लागि पार्टीमा रहेकाले कर्म गर्नबाट पछि पर्न नहुने बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) समेत रहनुभएका खाणले आफू निर्वाचित भएर आएपछि तिलोत्तमामा आफुले गरिरहेको कर्मले पार्टीलाई नै गौरभान्वित बनाएको बताउनुभयो । उहाँले हरेक क्षेत्रमा कार्यकर्ताले आफूले सक्ने काम गर्नुपर्ने बताउनुभयो । 

सभापति खाणले अन्य पार्टी आफैमा फुट्ने र लड्ने गरे पनि काँग्रेसले अरु पार्टीलाई समेत मिलाएर एक बनाइ देशको सार्वभौमसत्ता कायम राख्न भुमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गर्व गर्नुपर्छ कि हामी काँग्रेसका कार्यकर्ता हौं, शान्ति सम्झौतादेखि सरकारलाई स्थिर बनाउने जिम्मेवारी बोकेको काँग्रेस पार्टीका कार्यकर्ताले समाज परिवर्तनका लागि काम गरेर देखाउन जरुरी छ ।’ 

कार्यक्रममा काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले पार्टीप्रति वफादार हुन सके मात्र सच्चा राजनीति गरेको ठहरिने बताउनुभयो । उहाँले इतिहास बोकेको काँग्रेस नेपाली राजनीतिको खम्बा भएको दावी गर्नुभयो । त्यस्तै क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले कांग्रेसलाई थप मजबुत बनाएर अघि बढन सके मात्र जनताको विश्वास जित्न सकिने बताउनुभयो । तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले विगत, वर्तमान हेरेर भविष्यका कार्यकर्ताले पार्टीलाई साथ दिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य बीना न्यौपाने, महाधिवेशन प्रतिनिधि सन्तराम चौधरी, बाला घिमिरे, वडा नम्बर १३ का सभापति नारायण ढकाल लगायतको उपस्थिति थियो ।