२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

दुबईमा सम्पन्न विश्व नृत्य प्रतियोगितामा तेस्रो हुने ‘द ब्रेभ गोर्खास’ डान्स टीमलाई सम्मान

बुधवार , श्रावण २८, २०८२

बुटवल, २८ साउन । दुबईमा सम्पन्न विश्व नृत्य प्रतियोगिता वल्र्ड सुपरमेसी ब्याटल ग्राउण्ड—२०२५ मा तेस्रो स्थान हासिल गरेको ‘द ब्रेभ गोर्खास’ डान्स टीमलाई बुधबार रुपन्देहीको बुटवलमा बधाई तथा सम्मान गरिएको छ । नाश्री डान्स एकेडेमीको आयोजनामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा सहभागी सेकेण्ड रनरअप टिमलाई सम्मान–पत्र प्रदान गर्नुभयो ।  

यसअघि सो टीम काठमाडौंमा सम्पन्न राष्ट्रियस्तरको प्रतियोगिता वर्ड डान्स नेपाल—२०२५ को उपाधी विजेता समेत रहेको छ । बुटवल–११ कालिकानगरमा रहेको नाश्री एकेडेमीबाट १० जना नृत्य कलाकारले दुवै प्रतियोगितामा सहभागीता जनाएको एकेडेमी सञ्चालक उषा खत्रीले जानकारी दिनुभयो । विश्वका २४ देशका कलाकारहरु बीचमा प्रतिष्पर्धाबाट छनौट भइ तेस्रो स्थान हासिल गर्नु कम मिहिनेत नरहेको एकेडेमीकी सञ्चालक खत्रीले बताउँदै यो उपलब्धि अन्तर्राष्ट्रिय मंचमा नेपाली नृत्यमा उत्कृष्ट भएको दावी गर्नुभयो । 

नगरप्रमुख पाण्डेयले नृत्यमार्फत देशको नाम विदेशमा चम्काउन सफल भएकोमा बधाई ज्ञापन गर्दै यसप्रकारका उल्लेखनीय कार्यहरुले बुटवलको महत्व थप उजागर गरेको बताउनुभयो । उहाँले नृत्यकलामार्फत नेपाललाई विश्वमा पहिचान गराउने काम भएको बताउँदै बुटवल नगर शिक्षा, खेलकुद, साँस्कृतिक क्षेत्रमा अगाडी रहेको दावी गर्दै शिक्षा, स्वास्थ्यका साथै संस्कृति संरक्षणको क्षेत्रमा पनि उपमहानगरको राम्रो लगानी रहेको समेत बताउनुभयो ।

कार्यक्रममा एकेडेमीका प्रशिक्षक मनिष नेपालीले अढाई वर्षको अवधिमा टीम तयार भएर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न योग्य, दक्ष र सक्षम बनाएको बताउनुभयो । ७ देखि २७ वर्ष उमेर समुहका सदस्यहरुलाई समेट्नु धेरै कठिनाइहरु आएको बताउँदै प्रशिक्षक नेपालीले नृत्य केवल मनोरञ्जनको श्रोतका रुपमा मात्र नभइ साधना र तपस्या भएको बताउनुभयो । नृत्य एउटा मानव स्वास्थ्यसँग पनि जोडिएको र विश्व बजारमा औषधी मानिने उल्लेख गर्दै उहाँले धेरै प्रतियोगिताको उपाधि र पुरस्कार क्षमताभन्दा पनि पैसासँग किन्ने रुपमा चिनिन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्का प्रशिक्षक पुजा दर्नालले धेरै मेहनत र लगनका कारण सफलता हासिल गरेको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्घता व्यक्त गर्नुभयो । दुबईमा तेस्रो भएपछि धेरै खुशी भएको आफनो अनुभव सुनाउदै सबै अभिभावकहरुको साथ र सहयोगबाट नै उपलब्धि हासिल भएको उहाँले बताउनुभयो । नेपालबाट १० जना कलाकारसहितको टीम जाने तयारी गर्दा बुटवलबाट नृत्यमा प्रतिनिधित्व गर्ने सरकारबाट एउटा पत्रको माग गर्दा समेत उपलब्ध नभएको भन्दै उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो-‘दुबई जान भिषा लगाउने क्रममा श्रोत देखाउन नसक्दा निकै कठिनाइ भएको थियो ।’ नृत्य क्षेत्रको बिश्व कप मानिने सो प्रतियोगितामा नेपाली पञ्चेबाजामा हिपहपको स्ट्रिप स्लासा प्रर्दशन गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा वर्ड डान्स एकेडेमी नेपालका निर्देशक रोशन गहतराजले कलाकारहरुले ठुलो मेहनत गरेर नृत्यबाट आफ्नो र आफ्नो क्षेत्रको पहिचान दिने काम गरेको बताउनुभयो । थप उन्नति र प्रगतिका लागि धेरै मेहनत र निरन्तरता जरुरी रहने बताउँदै निर्देशक गहतराजले कलाकार र नृत्यप्रति सरकारको दृष्टिकोण अझै पनि सकारात्मक नरहेको भन्दै गुनासो र चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफ्नै खर्चमा देश विदेश पुगेर महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।

कार्यक्रममा कलाकार कल्पना कुशुम, सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतम लगायतले बुटवलका युवा प्रतिभाले देशलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो। उहाँहरुले नृत्य प्रशिक्षणको क्षेत्रलाई फरक ढंगबाट अघि बढाउन जरुरी रहेको बताउनुभयो । सो प्रतियोगितामा नेपालबाट तीनवटा टोली सहभागी भएको थियो । फिलिपिन्सको दुईवटा टोलीले प्रथम र दोस्रो स्थान हासिल गरेर उपाधी कब्जा गरेको थियो भने नेपालबाट सहभागी तीनवटा टीम क्रमशः तेस्रो, चौथो र पाँचौं भएको थियो ।