
सोमवार , चैत्र ३०, २०७७
बुटवल, ३० चैत्र। बिद्यालयका प्रधानअध्यापक सहित ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि बुटवलस्थित कालिका मानवज्ञान माबि बन्द गरिएको छ।
नेपालमा दोश्रो लहरको कोरोना भाईरस संक्रमण प्रबेश गरेसँगै सिधै समुदायस्तरमा पुगेकोले बिद्यालय, शिक्षक र बिद्यार्थीहरु संक्रमणको उच्च जोखिममा रहेको भन्दै सो बन्द गरिएको हो।
रुपन्देहीमा हालसम्म एउटै विद्यालयमा यति धेरै संख्यामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो। करिब ८ हजार विद्यार्थी अध्ययरत रहेको सो बिद्यालयमा आफुसहित शिक्षक साथिहरु कोरोना संक्रमणमा परेपछि विद्यार्थीलाई संक्रमणबाट जोगाउन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए। प्रअ ज्ञवालीले भने म आफै संक्रमणमा परेर आइशोलेसनमा बसेको छु। बिद्यालय ब्यबस्थापन समितिको निर्णय अनुसार बिद्यालय बन्द गरिएको हो।
प्रअ ज्ञवालीका अनुसार कक्षा १० को परिक्षा संचालन भैरहेका कारण थप तिनदिन मात्र संचालन गर्ने र अन्य कक्षा केही समय अनलाइनमार्फत संचालन गर्ने निर्णय भएको छ। यता रुपन्देही लगाएतका बिभिन्न जिल्लामा पछिल्लो भेरियन्टको कोरोना केही विद्यालयहरुमा पनि देखिन थालेपछि पुनः शैक्षिक संस्थाहरु बन्द गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरको छ।
उता निजी विद्यालयको छाता संस्था प्याब्सनले भने विद्यालय बन्द गर्न नहुने तर्क पेश गर्दै आएको छ। केही दिनयता विद्यालयस्तरमा कोरोना संक्रमणको संख्या बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए।
संक्रमण रोक्न सबैको सजगता र सचेतना आवश्यक रहेको बताउदै डा.गिरीले सरकारले निर्धारण गरेका जनस्वास्थ्य मापदण्ड पालना गर्नुको बिकल्प नरहेको कुरामा जोड दिएका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij