२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

रास्वपाकी अब्बल उम्मेदवार बन्न सक्छिन् पुनम अग्रवाल

बुधवार , श्रावण २८, २०८२

भैरहवा, २८ साउन । उद्यमसँगै राजनीतिलाई अगाडि बढाइरहेकी छन्, भैरहवाकी पुनमकुमारी अग्रवालले ।

विगत १२ वर्षदेखि मुलुकको राजनीतिबारे बढी मात्रामा ज्ञान राख्दै आएकी उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध छिन् ।सिद्धार्थनगर–८ निवासी उनी रास्वपाले सार्वजनिक गरेको ९ जना आकांक्षीमा एक हुन् । आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उनी उम्मेदवार बन्न खोजेकी हुन् । आफूले राजनीतिलाई पेसा नभई सेवा ठान्ने उनी युवा उद्यमी समेत हुन् ।

उनी मुलुकमै पहिलोपटक संचालित दानेदार अग्र्यानिक मल उद्योगको संचालक हुन् । यही उद्योग कारण ‘मान्छे र माटोको स्वास्थ्य’ जोगाउने उद्यमीको रुपमा मुलुकको अग्रणी मिडिया हाउस अनलाइनखबरको ५० प्रभावशाली महिलाहरुमा पर्न सफल भई राष्ट्रियस्तरकै सम्मान समेत पाएकी छन् ।

मेडिकल बायोलोजीमा स्नातकोत्तर (डिग्री) अध्ययन गरेकी उनले विगतमा भैरहवा मेडिकल कलेज र देवदह मेडिकल कलेजमा केही समय अध्यापन समेत गराएकी थिइन् । ‘मैले खुल्ला प्रतिस्पर्धाबाट भारत सरकारले दिँदै आएको  पीएचडी स्कलरको विद्यार्थी हुने मौका समेत पाएकी छु’, उनले भनिन्, ‘मसँग अन्य धेरै क्षेत्रमा काम गरेको अनुभव पनि छ ।’

पार्टीको विधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिलाई अध्ययन गरेकी पुनमले लामो समयदेखिको मुलुकको राजनीति, नेतृत्व र विधिबारे अध्ययन गरेको बताउँछिन् । पुनम विगतमा एक राष्ट्रिय पार्टीका तर्फबाट सामानुपातिक सांसदको सूचिमा समते थिइन् । भने, सिद्धार्थनगरको प्रमुख (मेयर) मा समेत उम्मेदवार बनेकी थिइन् । यसले गर्दा उनको राजनीतिप्रतिको लगावलाई थप बलियो बनाएको मात्रै छैन, यहाँका मतदातासँग समेत घुलमिल गराएको बताइन् ।

‘राष्ट्रिय पुँजीको विकास, रोजगारी सिर्जना गर्दै मुलुकको समृद्धिमा टेवा पुर्याउन निरन्तर लागेकी छु । उद्यमसँगै मैले राजनीतिलाई निरन्तरता दिँदै रास्वपाको अभियानमा लागेकी छु’, उनले भनिन् । यसबाहेक विभिन्न सामाजिक संघसंस्थाहरुसँग जोडिएर समाजसेवा पनि गर्दै आएकी छन् ।

गरिब, विपन्न र असाहयहरुका लागि आर्थिक, सामाजिक र विभिन्न सामाग्री समेत सहयोग गरिरहेको उनी बताउँछिन् । ‘हेर्नुस्, मैले जानकारीमा आएको हरेक कुरा अध्ययन गर्छु’, उनले पब्लिक कुरासँग भनिन्, ‘मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र वैदेशिक गतिविधिबारे अध्ययनरत छु । रास्वपाले उठाएका राष्ट्र, राष्ट्रियता, सुशासन र विकासका योजनाबारे ज्ञान राख्छु ।’

उनले ठूला दलका नेताहरुका कारण मुलुक आज जर्जर अवस्थामा आएको सुनाइन् । ‘मुलुकमा ब्याप्त भ्रष्टाचार, कुसाशन छ । हाम्रो सभापति रवि लामिछानेर्ला प्रतिसोधकै कारण थुनामा राखिएको छ’, उनले भनिन्, ‘मुलुकको सम्भावना, विकास र समृति तथा राजनीतिक प्रतिसोधबारे हाम्रो पार्टीले उठाएका एजेण्डालाई थप स्थापित गर्न म उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षा राखेकी हुँ ।’

क्षेत्र, यहाँका जनताको मनोभावना, विकास, सम्भावना र समस्यासँग ज्ञान राख्ने भएकाले पनि उम्मेदवारीका लागि दावी गरेकी उनले सुनाइन् । ‘मेरो दावी हो, बाँकी कुरा पार्टीले डिसिजन गर्ला’, उनले भनिन् । मिश्रित समुदायको बसोबास र व्यापारिक थलो रहेको यो क्षेत्रमा मधेशी समुदायको बाहुल्यता छ ।

मधेशी, युवा, उद्यमी र राजनीतिककर्मी समेत भएकाले क्षेत्रका अधिक नागरिकसँग परिचित भएको उनले सुनाइन् । ‘मेरो हरेक समुदायका मानिससँग परिचय छ, चिनजान छ, राजनीति बाहेक व्यवसायिक र सामाजिक कामले पनि घुलमिल छु’, उनले सुनाइन् ।

उनले आफू जस्ता महिलालाई अवसर दिए स्थानीय र राष्ट्रियस्तरमा क्षेत्र, पार्टी तथा मुलुकको वतदिन सकिने बताएन । ‘पार्टीका योजना, सभापतिमाथि भएका राजनीतिक प्रतिशोध, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास, सुशासन र समृद्धिका पाइलाबारे स्पष्ट खाका कोर्न सक्छु’, उनले भनिन् । क्षेत्रका जनताको मनोभावना र पार्टीको विश्वासलाई थप बलियो बनाउन पनि आफूलाई योग्य उम्मेदवारका रुपमा प्रस्तुत गरेको उनले जनाइन् ।

उनले मुलुकको जल्दोबल्दो समस्याका रुपमा किसानलाई मल अभाव हुनु रहेको बताइन् । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा मुलुकमा दुईतिहाई बढी किसान रहेको औल्याउँदै उनले उनीहरुका लागि सबैभन्दा ठूलो समस्या मलखाद रहेको बताइन् । ‘हामी चाउचाउ–बिस्कुटलाई जङ्कफुड भन्छौं,’ उनले भनिन्, ‘अहिले हामीले खाइरहेको खाद्यान्न नै ठूलो जङ्कफूडका रुपमा रहेको छ ।’ किसानहरु झन जागरुक रहेको उनले बताइन् ।

अर्को महत्वपूर्ण कुरा आफू मारवाडी समुदायबाट भएको प्रष्ट पार्दै मुलुकको राजनीतिकमा परम्परादेखि मधेशी समुदायको योगदान रहि आएको र अहिले पनि उत्तिकै रहेकाले रुपन्देही–३ जस्तो औद्योगिक हवमा एउटा उद्योगी र राजनीतिककर्मीलाई उम्मेदवारीबाट बञ्चित गर्दा कतै न कतै कमजोरीका रुपमा रहने उनको भनाई छ ।

‘त्यही भएर म उम्मेदवार हुनु भनेको मारबडी समुदायलाई पनि सन्देश दिने कुरा हो । यसले रास्वपाले सबै क्षेत्र समेट्ष्ट भन्ने पनि स्थापित हुन्छ,’ उनले भनिन्, ‘मधेशी समुदायका महिला पनि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन सक्षम छन् भन्ने पनि देखिन्छ ।’

अघि थप भनिन्, ‘उपनिर्वाचन त हाम्रो परीक्षा मात्र हो । लक्ष्य त २०८४ हो, त्यहीँ अनुसार तयारी गर्नुपर्छ ।’ साढे दुई वर्ष लामो रास्वपा यात्राका क्रममा आफूले कसैसित पनि झैझगडा नगरेको उनले बताइन । ‘झैझगडा गरेर अल्झिने मेरो स्वभाव छैन,’ उनले भनिन्, ‘यदी म उम्मेदवार भएर चुनाव लड्दैं गर्दा सबैलाई समेट्न सक्छु ।’

आफूलाई उम्मेदवार बनाएको खण्डमा पार्टीलाई पछुताउनु पर्ने अवस्थाको निर्माण नहुने गरि भूमिका निभाउने उनले बताइन् । ‘म काम गर्छु, तर अनावश्यक प्रचार गर्दिनँ,’ उनले भनिन्, ‘म स्टेट फरवार्ड छु, कसरी बलियो हुनुपर्छ भन्ने थाहा छ । डिल गर्न सक्छु ।’

उनले गौतमुबद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नु, किसानले समयमै मल नपाउनु, लागूऔषध, सीमा अपराध, पूर्वाधारविकास, शिक्षा, स्वास्थ्य, महिलाहरुमा सचेतना कार्यक्रम जस्ता क्षेत्रका समस्या रहेको जनाउँदै यी समाधानमा पहल गर्ने जनाइन्। रास्वपाले आकांक्षी ९ जनामध्ये जसलाई उम्मेदवार बनाए पनि आफूले जिताउन लाग्ने बताइन् ।