२०८२, आश्विन ११ गते

Sep 27 2025 | २०८२, आश्विन ११ गते

एमालेका उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई

मंगलवार , श्रावण २७, २०८२

  • 970
    Shares
  • 970
    Shares
  • रुपन्देही, २७ साउन । नेकपा (एमाले) रुपन्देहीले क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन जिल्लाका पदाधिकारीलाई जिम्मा दिएको छ । यसअघि बसेको पार्टीको निर्वाचन क्षेत्र नम्बर ३ को बैठकले निर्वाचनका लागि ४ जना आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो । मंगलबार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले निर्वाचनका लागि आकांक्षी बनेका चारजना मध्येबाट उम्मेदवार सिफारिस गर्न पदाधिकारीलाई जिम्मेवारी दिएको हो ।

    एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले जिल्ला सचिवालय र क्षेत्रीय कमिटीले जिम्मेवारी दिएअनुरूप पदाधिकारीले उम्मेदवारको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गर्ने जानकारी दिनुभयो । ‘सचिवालय र क्षेत्रीय कमिटीले जिम्मेवारी दिएअनुरूप सकेसम्म एकजनामा सहमति जुटाउने र त्यो हुन नसके सोहीअनुसार निर्णय गरेर प्रदेश र केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने गरी पदाधिकारीलाई जिम्मेवारी दिइएको छ,’ पौडेलले भन्नुभयो ।

    २०७९ सालमा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहराको निधन भएपछि रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि एमालेले यसअघि नै क्षेत्रीय कमिटीलाई आकांक्षीहरूको नाम सिफारिस गर्न निर्देशन गरेको थियो ।

    जिल्ला कमिटीको सोही निर्देशनअनुसार क्षेत्रीय कमिटीले आकांक्षीहरू पार्टीका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि अधिकारी, यज्ञ जित शाह र शशि पौडेलको नाम सिफारिस गरेको थियो ।

    निर्वाचनको लागि चारजनाले आकांक्षा व्यक्त गरेपछि पार्टीले सर्वसम्मत सिफारिस गर्न पार्टीभित्र छलफल चलाउन थालेको हो । मंगलबार बसेको सचिवालय बैठकले सर्वसम्मत उम्मेदवार छनौटका लागि पहल गर्दै प्रदेश कमिटीमा सुझावसहित २०८२ भदौ १५ गते भत्र उम्मेदवारको सिफारिस गर्न जिल्लाका पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पौडेलले जानकारी दिनुभयो ।

    बैठकले उम्मेदवारको विषयसँगै पार्टीको आसन्न विधान महाधिवेशनमा प्रस्तुत हुने संशोधित विधान मस्यौदाको अध्ययन र छलफल गरी थप लिखित सुझाव दिने पनि निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरेले बैठकमा प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि अध्ययन र व्यापक छलफल गरी आगामी भदौ ३ गतेभित्र जिल्ला कमिटीको कार्यालयमा थप लिखित सुझाव पेश गर्न मातहतका कमिटिलाई निर्देशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको अध्यक्षता एवं पार्टीका पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज लिला गिरीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नेताहरू दधिराम न्यौपाने, खिमलाल भट्टराई, शिवराज सुवेदी, सावित्रा अर्याल, गुमादेवी आचार्य,  कमल गौतम, विष्णु पन्थी, राधाकृष्ण कंडेल लगायतको उपस्थिति थियो । एमाले जिल्ला कमिटीका उपाध्यक्ष हितराज पन्थीले स्वागत तथा सचिव चित्र बहादुर कार्कीको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।