
मंगलवार , श्रावण २७, २०८२
काठमाडौं, २७ साउन । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सभापति खतिवडाले राजीनामा दिनुभयो । उहाँले संघीय निजामति विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच शक्ति प्रदर्शन झेल्नुपरेको उहाँको भनाइ छ । कुलिङ अफ पिरियडको गडबडी छानविन विशेष समितिले सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको थियो ।
आफूले विधेयक गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति अन्तिमसम्म लागेको उहाँको भनाइ छ । उहाँले निजामती विधेयकमा भएको त्रुटी आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल र गरिहिएर नहेर्नु आफ्नो कमजोरी रहेको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिमा निष्ठाको कमि रहेको अवस्थामा म इतिहासमा मेरो नाम दर्ज गर्न चाहान्छु । यस्ता कुरामा सबैको ध्यान पुगोस् । संघीय निजाममित विधेयक पारित गर्दा राज्य व्यवस्था तथा सुशासन समितिले धेरै कष्ट व्यहोर्नुप¥यो । उक्त विधेयकमाथिको दाउपेच र शक्ति प्रदर्शनको खेल तपाईहरुले पनि देख्नुभयो । तिनीहरुको दबाब मैले, संसदीय समिति र सदनले पनि झेल्नु नै पर्यो । समितिकै सदस्यहरु संसदमा हुनुहुन्छ । उहाँहरुले पनि कुनै न कुनै झमेला खेप्नुभएकै छ ।’
उहाँले आफ्नो सभापतित्वको समयमा समितिबाट महत्वपूर्ण विधेयकहरु पारित गर्न सफल भएको दाबी गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij