२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

अपमान र गालीगलौज गर्ने काम रोक्न रास्वपालाई एमालेको चेतावनी

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं, २७ साउन । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र कार्यकर्ताहरूलाई व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । आमाबाबुको नाम लिएर गालीगलौज गर्ने व्यवहार अहिले ठिक लागेपनि भविष्यमा धेरै भारी पर्ने उहाँको चेतावनी छ । उहाँले पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोधको आरोप लगाउँदै हस्ताक्षर अभियान र चन्दा संकलन गरिरहेकोप्रति पनि कटाक्ष गर्नुभयो । आरोपिले बिगो भरेर अपराध स्वीकार गरिसकेको उल्लेख गर्दै हस्ताक्षर अभियानको कुनै औचित्य नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसैलाई आमाको नाममा कसैलाई बाबुको नाममा कसैका स्वर्गारोहन हुनुभएको हजुरबुबाको नामममा समेत गाली गर्ने कार्य राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका कार्यकर्ताहरुबाट भइरहेको छ । म उहाँहरुलाई आग्रह गर्न चाहन्छु । यस्ता गालीहरु सुधार गर्नुहोस् । आज तपाईहरुलाई ठिक लागेपनि कालान्तरमा यही चिज तपाईंहरुलाई भारी हुन्छ । उहाँहरुले राजनीतिक प्रतिशोध भन्दै चन्दा संकलन तथा हस्ताक्षर अभियान पनि चलाउनुभएको छ ।

जसलाई राजनीतिक प्रतिशोध भनेर हस्ताक्षर र चन्दा संकलन गर्दै हुनुहुन्थ्यो । तिनै व्यक्तिले बिगो स्वीकार गरेर जमानतमा छुटिपाउँ भनेर निवेदन दिए । म साथीहरुलाई सोध्न चाहन्छु, बिगो स्वीकार गर्ने कुरा आफैंमा अपराधको स्वीकारोक्ति होइन । तपाईको अध्यक्ष र दलले बिगो दिएर अपराध स्वीकार गर्ने तहमा पुगिसकेपछि यो राजनीतिक प्रतिशोध लगाइएको हो भनेर लगाइएको आरोप नाटक हो भनेर प्रमाणित भएन र ?’

बिगो स्वीकार्नु अपराधको समेत स्वीकारोक्ति भएको उल्लेख गर्दै उहाँले राजनीतिक प्रतिशोध गरेको भन्ने आरोप नाटकजस्तै भएको प्रमाणित भएको टिप्पणी गर्नुभयो ।