२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

सार्थकको उच्च प्रविधिको ‘कङ्क्रिट सोलार सीमा पर्खाल’ बजारमा

सोमवार , श्रावण २६, २०८२

भैरहवा । सार्थक कङ्क्रिट प्रालिले ‘प्रिकास्ट प्रिस्ट्रेस्ड’ प्रविधिमा आधारित ‘कङ्क्रिट सोलार सीमा पर्खाल’ उत्पादन गरी बजारमा ल्याएको छ । उच्चस्तरीय प्रविधिमा आधारित ‘कङ्क्रिट सोलार सीमा पर्खाल’ उत्पादन गरी बजारमा ल्याएको कम्पनीले जनाएको छ । ग्रिडमा जडित सौर्य विद्युत् आयोजनाको प्यानल फार्म सुरक्षाका लागि टिकाउ तथा बलियो सीमा सुरक्षा पर्खालको उत्पादन गरिएको कम्पनीका अध्यक्ष डा‌ बिष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । 

कपिलवस्तुमा झण्डै ४० बिगाहा क्षेत्रफलमा सञ्चालित १५ र १० मेगावाटका दुई सौर्य विद्युत् आयोजनाका फार्मको सुरक्षाका लागि यस्तो पर्खाल लगाएको छ । दुवैतिर खोल्सी (ग्रुभ) भएका ‘एच–पोस्ट’ गाडेर त्यसको बीचमा कङ्क्रिटका प्यानल राखी बनाइने यस्ता पर्खाल एकदमै छिटो समयमा निर्माण गर्न सकिन्छ । पोस्टको बीचमा राखिएको प्वालमा स्टिलको फ्रेम छिराएर सजिलोसँग बार्बेड तथा कन्सर्टिना तारबार थप्न सकिन्छ। 

अध्यक्ष गौतमका अनुसार ढुङ्गा तथा इँटाबाट बनाइने परम्परागत पर्खालको तुलनामा ‘कङ्क्रिट सोलार सीमा पर्खाल’ लगाउँदा लागत र निर्माण समय कम लाग्ने तथा बलियो हुन्छ। गुणस्तरीय कङ्क्रिट तथा प्रिस्ट्रेसिङ रड प्रयोग गरी उत्पादन गरिने भएकाले गुणस्तरमा कुनै समस्या नरहेको उहाँको भनाइ छ ।  

कम्पनीका अनुसार सीमा पर्खालमा मुख्य रूपमा हावाको भार पर्दछ। नेपालमा ४७ मिटर प्रतिसेकेन्ड (१६९ किलोमिटर प्रतिघण्टा) गतिको हावाको भार थाम्ने गरी पर्खालको डिजाइन गर्नुपर्ने छ। नेपालमा आँधीबेहरी जस्ता ठूला हावाहुरीका घटना कम हुने गरेको भए पनि हावाको भारलाई पर्याप्त ध्यान नदिँदा पर्खाल ढल्ने खतरा हुन्छ । त्यही जोखिम कम गर्न सार्थकले उक्त उत्पादन ल्याएको गौतमको भनाइ छ । स्थानीय स्तरमा उत्पादन गरिने पोस्टको बहन क्षमता करिब १ किलो न्युटन मिटर हुने गरेकोमा सार्थक कङ्क्रिटका पोस्टहरूको क्षमता ४ किलो न्युटन मिटरसम्म हुने कम्पनीको दावी छ ।

विश्वस्तरमा उपलब्ध प्रविधिमार्फत नेपालका लागि उपयुक्त प्रिकास्ट एवम् प्रिस्ट्रेस्ड कङ्क्रिट विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले विषयविज्ञ इन्जिनियरहरूको समूहले सार्थक कङ्क्रिट प्रालि स्थापना गरिएको उहाँको भनाइ छ । पछिल्लो समय सीमा सुरक्षा पर्खाल पनि संरचनात्मक ढाँचा तयार गरी बनाउनुपर्छ भन्ने मनोविज्ञान उपभोक्तामा पनि विकास हुँदै गएको छ । सौर्य विद्युत् आयोजनाका फार्महरूबाहेक ठूला उद्योग, जग्गालाई घेर्न र सुरक्षित बनाउन पनि यस्ता पर्खाल उपयुक्त हुने कम्पनीले जनाएको छ ।

कम्पनीले वीरगन्ज, सिमरा, चन्द्रनिगाहपुर, बुटवल, भरतपुर, चन्द्रौटा, पोखरा, काठमाडौँ लगायत विभिन्न स्थानमा उद्योग, व्यापारिक स्थल, पर्यटन पूर्वाधार आदिमा पनि यस्ता पर्खाल लगाइरहेको छ । कम्पनीले मासिक १५ हजार स्क्वायर फिटसम्म यस्ता पर्खाल उत्पादन गरी लगाइरहेको छ । माग बढेका बेला २० हजार स्क्वायर फिटसम्म उत्पादन गर्न सक्ने कम्पनीको क्षमता छ ।

यस्ता पर्खाल निर्माण गर्दा निर्माण स्थलमा गिट्टी बालुवा सिमेन्ट, ढुङ्गाको थुप्रो लगाउनु नपर्ने हुँदा निर्माणस्थल तुलनात्मक रूपमा सफा र छरितो रहने कम्पनीले जनएको छ । यी उत्पादनहरू रडबाहेक स्वदेशी स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्वदेशी श्रम र अन्तर्राष्ट्रिय प्रविधिद्वारा निर्माण गरिन्छ । कम्पनीको उत्पादन प्लान्ट चितवनमा रहेकाले देशका धेरै भू–भागमा ढुवानी गर्न सहज र सुपथ हुने कम्पनीले जनाएको छ ।