
आइतवार , चैत्र २९, २०७७
भैरहवा, २९ चैत ।
नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको १२ आंै जिल्ला अधिवेशनको उद्घाटन सत्र तिलोतमा नगरपालिका–२ योगीकुटीमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति समेत निर्वाचित गर्ने कार्यक्रम रहे तापनि समय अभावका कारण पुरा हुन नसकेकोले आगामी वैशाख ४ गतेसम्म सम्पन्न गर्ने गरी व्यवस्था गरिएको संगठनले जनाएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा तीन जना, उपाध्यक्षमा पाँच, महिला उपाध्यक्षमा तीन, सचिवमा दुई र कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । त्यसै गरी सह-सचिव र सह-कोषाध्यक्षमा भने १/१ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
कार्यक्रममा गुरुबारी नामक स्मारिकाको अंक ३ विमोचन गरिनुको साथै संगठनका आजीवन सदस्य, सेवा निवृत भएका शिक्षक र विविध गरी २ सय ३७ जनालाई सम्मान पनि गरिएको थियो ।
संगठनका रुपन्देही अध्यक्ष मोतीलाल सुवेदीको अध्यक्षमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले संगठनले हाल सम्म प्राप्त गरेका उपलब्धि र भावी योजनाबारे बताएका थिए ।
कार्यक्रममा संगठनका राष्ट्रिय कोषाध्यक्ष विष्णु प्रसाद भण्डारी, लुम्बिनी प्रदेश अध्यक्ष विष्णु प्रसाद पोख्रेल लगायतले बोलेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij