२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

रक्तदान जीवनदान : एक्सपर्ट एजुकेशनको सामाजिक उत्तरदायित्व अभियान

शनिवार , श्रावण २४, २०८२

बुटवल, २४ साउन । पछिल्लो समय अस्पतालमा बिरामीहरुका लागि रगत अभाव भएकोले विभिन्न संघ–संस्था, कार्यालयहरुले रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएका छन् । यसैक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको २२ औँ वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रुपन्देहीको बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक अभ्यूदय ढकालका अनुसार अस्पताल र रक्त सञ्चार सेवा केन्द्रहरुमा रगत अभाव हुन नदिने उद्देश्यले गरिएको सो कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ । वार्षिक उत्सवका अवसरमा नियमित रुपमा रक्तदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस, बुटवल शाखाको आयोजनामा नेपाल नियमित रक्तदाता संघ र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा राजमार्ग चौराहामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदीप कुमार श्रेष्ठले मानव जीवनमा रक्तदानको महत्वबारे प्रकाश पार्दै यस्ता सामाजिक अभियानमा स्थानीय समुदायको पनि सक्रिय सहभागीताको आवश्यकता रहेको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले युवाहरु व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्वका साथै समाजलाई सभ्य, व्यवस्थित र सुसंस्कृत बनाउने दिशामा अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले समाजमा शान्तिसुरक्षा कायम गर्न खटिएको प्रहरीलाई सघाउनु नागरिकको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै सभ्य र मर्यादित समाज निर्माणका लागि युवा वर्गले गम्भिर भएर सोच्नुपर्ने बेला आएकोमा जोड दिनुभयो ।

WhatsApp Image 2025-08-09 at 6.54.44 PM.jpeg

संस्थाका प्रमुख शंकर सापकोटाले विगतका वर्षझै यस वर्ष पनि सरसफाई, हरियाली प्रवद्र्धन तथा रक्तदान जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्नुभयो । उहाँले यस्ता अभियानमार्फत समाजमा देखिने समस्या न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रम संयोजक अभ्युदय ढकालले यो रक्तदान केवल रगत संकलनको उद्देश्यका लागि मात्र नभइ रक्तदातामा जनचेतना अभिवृद्धि गर्ने, युवामा सामाजिक जिम्मेवारीको भावना विकास गर्ने र मानिसका लागि रक्तदान नै जीवनदान हो भन्ने सन्देश फैलाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बबताउनुभयो ।