
शनिवार , श्रावण २४, २०८२
बुटवल, २४ साउन । लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले जनता स्वास्थ्य सेवामा अझै पनि ढुक्क हुने अवस्था नरहेको बताउँदै यसका लागि तीनै तहको सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी प्रदेश सरकारले सबै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभुत गराउँदै विशिष्टिकृत अस्पताल स्थापनाका लागि कार्यविधि निर्माणको प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
शनिबार रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण तथा विभागीय प्रमुखहरुसँग अन्तरक्रिया गर्दै प्रमुख सचिव अधिकारीले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले कार्यविधि बनाउन लागेको जानकारी दिनुभयो । ‘सबै ठाउँमा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउँन प्रदेश सरकारको वर्तमान स्रोत साधनले सम्भव छैन । विशिष्टिकृत सेवाका लागि डेडिकेडेट अस्पताल वा स्वास्थ्य केन्द्र स्थापना गर्न आवश्यक छ,’उहाँले भन्नुभयो–‘बिरामीको चापका आधारमा अस्पतालको आवश्यकता हो वा होइन, सोहीअनुसार दरबन्दी सिफ्टिङ गर्नुपर्ने देखिएको छ ।’
अस्पतालका विभागीय प्रमुखहरुले सेवालाई गुणस्तरीय र थप सहज बनाउनका लागि जनशक्ति थप गर्नुपर्ने तथा उपकरणको व्यवस्थापनका लागि सुझाव दिएका थिए । प्राप्त सुझावहरुपछि जवाफ दिदै प्रमुख सचिव अधिकारीले अस्पतालहरुमा जनशक्ति व्यवस्थापनका लागि लोकसेवा आयोगसँग पनि छलफल अघि बढाइएको जानकारी दिनुभयो । प्रदेश सरकारले आफू मातहतका १४ वटै अस्पतालहरुको अवस्थाबारे अध्ययन गरिरहेको बताउँदै उहाँले जनशक्ति व्यवस्थापन र सेवा विस्तारका लागि कार्यविधि निर्माणको तयारीमा रहेको बताउनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सरकारको वर्तमान स्रोतसाधनले सबै कुरालाई एकैपटक समाधान गर्न असम्भव भएका कारण प्राथमिकीकरण गरेर कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो । ‘प्रदेश सरकार वा संघ सरकारसँग पनि स्वास्थ्य क्षेत्रमा सुधारका लागि वर्तमान स्रोतसाधन प्रयाप्त भएको जस्तो देखिएन त्यस कारण प्राथमिकताको स्तर निर्धाण गरी त्यसलाई कार्यान्वयन गर्दै अघि बढौं ।’–अध्यक्ष श्रेष्ठले भन्नुभयो । त्यसै गरी प्रादेशिक अस्पतालमा सेवाग्राहीको चापलाई कम गर्नका लागि जिल्लाका सबै अस्पतालहरुमा सन्तुलित विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
अस्पतालका मेडिकल सुपेरीटेण्डेण्ट डा. इन्द्र ढकालले विशिष्टिकृत सेवा विस्तार गर्दै लगिए पनि जनशक्तिको समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । अस्थायी दरबन्दीका आधारमा सेवा विस्तार गर्दै जाँदा उक्त सेवाको स्थायीत्वमा चुनौति रहेको बताउँदै उहाँले प्रदेश सरकारले जनशक्ति व्यवस्थापनमा विशेष जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रम अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको थियो भने विभागीय प्रमुखहरुले स्वास्थ्य सेवाको अवस्था र चुनौतिहरुबारे सुझाव प्रस्तुत गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij