२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

लियो सिद्धार्थनगरद्वारा बालिका बेचबिखन तथा लागूपदार्थ दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम

शनिवार , श्रावण २४, २०८२

भैरहवा, २४ साउन । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा भैरहवा बहुमुखी क्याम्पसमा बालिका बेचबिखन लागूपदार्थ दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । युवाहरूमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा बोल्द्र क्लबका अध्यक्ष विमल गौतमले समाज रूपान्तरणका लागि युवा पुस्ताले नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो । ‘हामी युवाहरूलाई यस्ता गम्भीर विषयमा जानकारी र आत्मबल दिन जरुरी छ,’ अध्यक्ष गौतमले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), का पूर्व डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले यस्ता जनचेतनामूलक कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैह्रेले लागूपदार्थ सम्बन्धी कानुनी प्रावधान, प्रभाव, रोकथामका उपायहरू र प्रहरीको भूमिका विषयमा विस्तृत जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘लागूपदार्थ एउटा आन्तरिक युद्ध हो, जसलाई चेतनाले जित्न सकिन्छ ।’

त्यसै गरी, माईती नेपालकी प्रमुख माया क्षेत्रीले बालिका बेचबिखनको वास्तविकता, नेपालका जोखिमयुक्त क्षेत्रहरू, दलालहरूको रणनीति र त्यसविरुद्धको सामाजिक र कानूनी लडाईबारे विश्लेषण गर्नुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा, सतर्कता र सहकार्यबिनाको समाज बेचबिखनको सिकार बन्ने खतरा उच्च रहन्छ ।’

कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थी, शिक्षक, समाजसेवी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । अन्तरक्रियात्मक सत्रमा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए, जसको वक्ताहरूले जवाफ दिएका थिए ।

क्याम्पस प्रमुख लक्की प्रसाद जोशीले यस्ता कार्यक्रमहरूले शिक्षालयलाई सामाजिक उत्तरदायित्वमा पनि योगदान दिन मद्दत गर्ने बताउँदै आयोजक क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। । लियो क्लब अफ सिद्धार्थनगरले आगामी दिनमा पनि बालबालिका, शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।