२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था छैन : सांसद साउद

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं, २३  साउन । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले भारतको उर्जा मागलाई ध्यानमा राखी नेपालले विद्युत निर्यात रणनीति बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव नभएको प्रष्ट पार्नुभयो ।

उहाँले नेपालको जलस्रोतको अधिकतम मूल्य प्राप्तिका लागि अनुसन्धान र विश्लेषण अपरिहार्य भएको पनि बताउनु भयो । नेपालको आफ्नै नीति र भौगोलिक समस्याको कारण विगतमा जलस्रोतको न्युनतम उपयोग गर्न पनि नसकेको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो प्रोडक्ट किन्ने मुलुकको बजार अन्वेषण गर्ने कुरा हाम्रो हातमा हुन्छ । तर त्यो मुलुकको प्राथमिकता निर्धारण गर्ने कुरा चाँही हाम्रो हातमा हुदैन । त्यसैले हामी चाँही हाम्रो उर्जा तथा जलस्रोतलाई कसरी बढीभन्दा बढी मूल्यमा बेच्ने भन्ने विषयमा रणनीति बनाऔँ । त्यसका लागि  खासै अनुसन्धान भएको छैन ।

त्यसमा लाग्नुपर्ने अवस्था छ । तर फलानो देशले फलानो कुरा नै गर्नुपर्छ भनेर हामीले प्राथमिकता निर्धारण गर्न थाल्यौं भनेपछि गाह्रो हुन्छ । हामीले विगतमा जलस्रोतको न्युनतम उपयोग गर्ने कुरामा पनि चुकेको जस्तो देखिन्छ । पञ्चायतमा जलस्रोतका विषयमा सम्झौता गर्ने नीतिका कारण जलस्रोतको दोहन नभएको हो । हाम्रो भूवनोटको समस्या पनि छ । त्यसकारण  हामीले जलविद्युत उत्पादन गर्दापनि कति आउटपुट दिन्छ भन्ने कुरामा रिसर्च र एनालाईसिस गर्नुपर्छ ।

भारतलाई बाईपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था पनि छैन । ट्रान्समिसन लाइन भएपनि भारतले नै दिनुपर्छ । त्यस्तो अवस्थामा भारतमा उर्जाको माग कस्तो भन्ने विषयमा एउटा उपयुक्त रणनीति बनाएर हामीले अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

सांसद साउदले निजी क्षेत्रसँग सहकार्य गरेर जलस्रोतको अधिकतम उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्न जरुरी रहेको बताउनु भयो ।