२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

वडा सदस्य के.सी.द्वारा १२० विद्यार्थीहरुलाई टिफिन बक्स वितरण

बिहिवार , श्रावण २२, २०८२

भैरहवा, २२ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का वडा सदस्य अनिल कुमार के.सी.ले १२० जना विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गर्नुभएको छ । वडा सदस्य के.सी.ले सिद्धार्थनगर–६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्ययनरत १२० विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमकाबीच टिफिन बक्स वितरण गर्नुभएको हो । 

विद्यालयमा आएर बुझ्दा दिवा खाजाका लागि विद्यार्थीहरुलाई टिफिन बक्स आवश्यक रहेको जानकारी पाएपछि यो कार्यक्रम गरेको के.सी. बताउनुभयो । उहाँले आफू यो विद्यालयको साथमा रहेको र आगामी दिनमा पनि केही न केही कार्यक्रम गर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रवीण श्रीवास्तवले वडा सदस्य के.सी.ले अत्यन्तै प्रेरणादायी कार्य गर्नुभएको भन्दै प्रशंसा गर्नुभयो । विद्यालयका पूर्व सहायक प्रधानाध्यापक सदरे आलम दर्जीले टिफिन बक्सको सरसफाई तथा विद्यार्थीहरुको पठनपाठनमा ध्यान दिन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

पूर्व सहायक प्रधानाध्यापक ओमप्रकाश त्रिपाठीले वडा सदस्य के.सी.ले सराहनीय कार्य गर्नुभएको बताउनुभयो । उहाँले आफ्नो श्रीमती स्वर्गीय सुधा त्रिपाठीको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्ने बताउनुभयो । 

विद्यालयका सल्लाहकार विष्णु प्रसाद पन्थीले वडा कार्यालयले गर्नुपर्ने कार्यक्रम वडा सदस्यले आफ्नो व्यक्तिगत लगानीमा गर्नु आफैमा महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले अब विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पन्थीले स्थानीय सरकारले शिक्षाको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

IMG_0116.JPG

विद्यालयका प्रधानाध्यापक प्रवीण श्रीवास्तवको अध्यक्षता, वडा सदस्य एवं नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव अनिल कुमार के.सी.को प्रमुख आतिथ्यता, विद्यालयका सहायक प्रधानाध्यापक टंक अधिकारीको स्वागत तथा शिक्षक रोहित गुप्ताको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सल्लाहकार मुस्ताक अहमद भाट (भोला), शेर अली धुनिया, राजु खान, रामप्रित चौधरी, नसिबदार धुनिया, विद्यालय व्यवस्थापन समितिका निवर्तमान सदस्य मनि कुमार चौधरी,  समाजसेवी समाजसेवी सुर्य बहादुर यादव, अजय यादव लगायतको आतिथ्यता रहेको थियो ।