
बिहिवार , श्रावण २२, २०८२
भैरहवा, २२ साउन । रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । रास्वपाले बिहीबार सामाजिक सञ्जाल फेसबुक पेजबाट लाइभमार्फत आवेदकहरूको सूची सार्वजनिक गरेको हो ।
आवेदन दिनेमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जीत बहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधु प्रसाद अर्याल रहनुभएको छ ।
क्षेत्रीय सभापति मधु अर्याल शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँ तिलोत्तमाका विद्यालय सञ्चालक हुनुहुन्छ । ज्ञानु पौड्याल सहकारी अभियन्ता हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आउनुभएको छ । पौड्याल सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ ।
त्यस्तै डा. लेखजंग थापा न्यूरो सर्जन हुनुहुन्छ । केन्द्रीय सदस्य कुसुम महर्जन २०७९ सालको निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक सूचीमा हुनुहुन्थ्यो । उक्त सूचीबाट नाम फिर्ता गरेर उनी उम्मेदवारीको दौडमा सहभागी हुनुहुन्छ ।
पुनम अग्रवाल रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित कोटहवामा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकलको प्रबन्ध निर्देशक हुनुहुनुहुन्छ । प्राध्यापन पेशामा रहनुभएका उपाध्यायले हिजो मात्रै रुपन्देही क्याम्पस प्रमुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो । गुप्ता रास्वपा लुम्बिनी प्रदेश सदस्य तथा २०७९ सालमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुनुहुन्छ । सुलभ खरेल अमेरिकाबाट निर्वाचनकै लागि आउनुभएको छ ।
शुक्रबार (भोलि) बिहान १० बजेदेखि शनिबार (पर्सी) साँझ ५ बजेसम्म उम्मेदवारीमाथि दावीविरोध गर्न सकिने रास्वपा सह–महामन्त्री तथा रुपन्देही–३ का चुनावी कमाण्डर विपिन आचार्यले जानकारी दिनुभयो ।
यसका लागि रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिनुपर्ने छ । साउन २६ गते प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशित गरिनेछ ।
त्यस्तै रास्वपाले आवेदन दिएकाहरूमध्येबाट उम्मेदवार छान्न प्रारम्भिक निर्वाचन गर्ने भएको छ । जसको अंकभार ५० प्रतिशत हुनेछ । जसका लागि भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म प्रारिम्भक निर्वाचन हुने र त्यसमा रुपन्देही–३ का रास्वपा पार्टी सदस्यहरू र केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउने आचार्यले बताउनुभयो ।
प्रारम्भिक निर्वाचनबाट पाउने ५० प्रतिशत अंकभारलाई सय प्रतिशत मानेर चुनाव हुँदा रुपन्देही–३ मा रास्वपा सदस्यको मतभार ८० प्रतिशत र त्यही क्षेत्रमा रास्वपाको समितिमा रहेका सदस्यको अंकभार १० प्रतिशत हुनेछ ।
त्यस्तै केन्द्रीय सदस्यको १० प्रतिशत हुनेछ । प्रारम्भिक निर्वाचनबाट प्राप्त अंक र पार्टीले गर्ने निर्णयबाट उम्मेदवार तय गरिनेछ । रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठाको रुपमा लिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij