२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

माओवादी केन्द्रको आरोप : लिचीबारी प्रकरणमा मधेसी मूलको मन्त्रीलाई छपक्क ढालियो

बुधवार , श्रावण २१, २०८२

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संविधान संशोधन, सुशासन र स्थिरताको प्रतिबद्धता गर्दै गठन भएको वर्तमान सरकार पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकार गठनको उद्देश्यअनुसार संविधान संशोधन प्रक्रिया नथालेको, समन्वय नगरेको र सुशासन प्रवद्र्धनमा असफल भएको आरोप लगाउनु भयो ।

उहाँले पोखराको लिचिबारी जग्गा प्रकणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपिलाई संरक्षण गर्ने काम भइरहेको पनि आरोप लगाउनु भयो । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्न प्रतिपक्षी दल सधैं तयार रहेपनि सरकार भ्रष्टाचार र अनियमितता गर्नमै व्यस्त रहेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधन, मुलुकमा सुशासन कायम र स्थिरता दिन्छौं भनेर गठन भएको सरकार कहाँ छ भनेर लिचिबारीसम्म आईपुग्दा देखियो । मधेसमुलबाट आएको एउटा सोझो मन्त्रीलाई छपक्क ढालियो । चाणक्यले भनेजस्तो काटिने त अन्ततः सोझै रुख हो । अर्को एउटा बाङ्गो रुख त बाङ्गै छ । त्यो रुखलाई त राम्रो मलजल र राम्ररी संरक्षण भएको होला ।

संविधान संशोधन, स्थिरता र सुशासनको नारा दिएको सरकारले आजको दिनसम्म पनि कसैलाई एक मिनेट बोलाएर छलफल नगर्ने ? अनि अहिले आएर लोकप्रियतावादीहरुलाई गाली गरेर के उपलब्धी हुन्छ ? राम्रो काम गरौँ न । त्यसको लागि कस्तो कागजमा हस्ताक्षर गर्नुपर्ने हो, प्रतिपक्ष तयार छ । तर काण्डैकाण्डले हुदैन ।’

उहाँले लोकप्रियतावादको विरोध गरेर मात्र केही उपलब्धि नहुने भन्दै सरकारलाई व्यवहारिक सुधार र परिणाममुखी कार्यमा ध्यान दिन आग्रह गर्नुभयो ।