२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

एमसीसीमा देउवा भन्दा ओली झन कडा : अध्यक्ष दाहाल

बुधवार , श्रावण २१, २०८२

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस भन्दा नेकपा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । एमसीसी जस्ताको त्यस्तै हुनुपर्छ भन्नेमा काँग्रेस सभापति शेरबहादुर देउवा भन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झनै कडा पाएको बताउनु भयो । एमसिसी जस्ताको त्यस्तै पास गर्न दिनु हुँदैन भनेर एमालेसँग छलफल गर्दा काँग्रेस भन्दा बढी पक्षधर रहेको पाएको बताउनु भयो ।

उहाँले एमसिसी जस्ताको त्यस्तै पास हुन नदिनका लागि काँग्रेस र एमालेसँग बारम्बार छलफल गर्दा पनि सहमति नजुटेपछि मन नलागी नलागी एमाले नेतृत्वसँग छलफलका लागि आफूहरु गएको स्मरण गर्नुभयो । तर एमालेले अपमानजनक भाषा प्रयोग गरेको उहाँको आरोप छ । एमाले नेपाललाई आइपिएसको सदस्य बनाउने पहल गर्ने र एसपीपीमा सैद्धान्तिक सहमति गर्ने पार्टी भएको आरोप लगाउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘जसरी पनि एमसीसी पारित हुने भयो । हामीले रोक्नसक्ने स्थिति भएन । काँग्रेस दृढ अडानमा छ । एमाले र काँग्रेस मिलेपछि भइहाल्छ । एमाले नेतृत्वबाट सँगै समझदारी गरेको, कार्यदल बनाएकोबाट आश गरेको त झन कडा । काँग्रेस भन्दा त केपी ओली त झन कडा ।

हाम्रा केही साथीहरु त जाउँ भयो । झगडा गर्दागर्दै पनि यही विषयको गम्भीरता र महत्वलाई ध्यान दिएर देशको लागि जाने हो के लाज मान्ने हो र ? देशको भलो हुन्छ भने जोसँग भएपनि वार्ता गर्न के हुन्छ भनेर अफ्ठ्यारो मानि मानि गएका थियौँ । तर यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नुभयो, काँग्रेस भन्दा त धेरै बढी रहेछ ।

आइपिएसको सदस्य बनाउने पनि उहाँहरु नै हो । एसपीपीसँग पनि सैद्धान्तिक सहमति गर्नेहरु पनि उहाँहरु नै हो । त्यसपछि अन्तिममा यसलाई बहिष्कार गर्ने, भोटिङमा भाग नलिने बाटो थियो । तर अनुमोदन त भइसक्थ्यो । त्यसलाई रोक्न र क्रान्ति नै शुरु गर्नसक्ने स्थिति थिएन ।’

अध्यक्ष दाहालले आफूहरुको बारम्बारको प्रयासपछि मात्रै व्याख्यात्मक टिप्प्णीसहित एमसिसी पास गरिएको बताउनु भयो ।