
बुधवार , श्रावण २१, २०८२
काठमाडौं, २१ साउन । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकार ‘बहिरो’जस्तै भएको आरोप लगाउनुभएको छ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले बर्दिया जिल्लामा सञ्चालन हुँदै आएको नदी व्यवस्थापन आयोजना सुटुक्क डडेलधुरा स्थानान्तरण गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले बबई, भादा र औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट हटाइएकामा असन्तुष्टि व्यक्त गर्दै सरकारले बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नगरेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अन्याय भयो सभामुख महोदय, सरकारले बहिरो भएको जस्तो व्यवहार गर्यो । सुन्दा पनि सुनेन, देख्दा पनि देखेन । बर्दिया जिल्लामा भएको बबई, भादा, औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट सुटुक्क लगेर डडेलधुरा पु¥याइयो । मैले बारम्बार संसदमा भने तर सरकारले सुन्दैन । यो के गर्न खोजेको सभामुख महोदय ? सरकारले मेरो कुरा सुनोस् । सभामुखमार्फत आग्रह गर्न चाहन्छु ।’
सांसद गौतमले सरकारसँग बर्दियाको नदी व्यवस्थापन आयोजना यथास्थानमा फर्काउन माग गर्नुभयो । माग पूरा नभए सत्याग्रहमा बस्ने उहाँको चेतावनी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij