
बुधवार , श्रावण २१, २०८२
लुम्बिनी, २१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले लुम्बिनी क्षेत्र विकास कोषको कार्यप्रगति अपेक्षाकृत हुन नसकेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले काम निरन्तर भइरहेको तर अपेक्षाअनुसार हुन नसकेको बताउनु भयो । आगामी दिनमा अझ गतिका साथ काम अघि बढाउने बताउनु भयो ।
आफूले लुम्बिनी क्षेत्रको विकासका लागि कुनै राजनीतिक आग्रह र पूर्वाग्रह नराखि काम गरेको बताउनु भयो । लुम्बिनीमा केही भूराजनीतिक गतिविधिहरु पनि व्यहोर्नुपर्ने रहेकाले त्यसको पनि समाधान गरेर अघि बढ्न जरुरी देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काम भएको छ । निरन्तर अघि बढेको छ । तर हाम्रो अपेक्षाअनुसार भएको छैन । हामीले लुम्बिनीलाई जसरी सोचिरहेका छौँ, त्यो अपेक्षाअनुसार भएको छैन । अझ गति दिनुपर्नेछ । आगामी दिनमा यसलाई गति दिँदै अगाडि बढ्छौँ ।
कुनै राजनीतिक आग्रह, पूर्वाग्रह नराखिकन मैले सहयोग गरिरहेको छु । तत्काल गर्नुपर्ने कामको सन्दर्भमा ऐन नै परिवर्तन गर्नुपर्नेछ । त्यहाँ केही भूराजनीतिक गतिविधि व्यहोर्नुपर्ने हुँदो रहेछ । त्यसका प्रभावहरु स्थानीय तहसम्म देखिन्छन् । त्यहाँ सधैँ सरोकारवाला महाअभियान भन्ने छ, उसको आन्दोलन चलिरहेको हुन्छ ।’
समितिको बैठकमा बुधवार लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij